
नेपालवाणी / जनकपुरधाम ।
नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिलेको सरकार खिचडी सरकार भएको बताएका छन् ।
उनले संघीयता रुचाउने र संघीयता नरुचाउने, राजा ल्याउने र राजा फ्याक्ने विचारधाराका दलहरु एक साथ रहेकाले अहिलेको सरकार खिच्चडी सरकार रहेको बताए ।
पत्रकारको एक प्रश्नको जवाफमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने अथवा नदिने विषयमा पुस २६ मा मात्र निर्णय गर्ने बताए ।
पाण्डेले अहिलेसम्म प्रचण्डले व्यक्तिगत रुपमा विश्वासको मत मागेपनि पार्टीगत रुपमा नमागेकाले यस सम्बन्धमा निर्णय गर्न पुस २६ गते नै बैठक बसेर निर्णय गर्ने बताए ।
शनिवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले पार्टीको मान्यता दिएर चिठ्ठी लेख्ने काम नभएको भन्दै भने, ‘प्रचण्डले व्यक्तिगत रुपमा मलाई सहयोग गर्नुपर्यो भन्नु भएको छ, व्यक्तिगत रुपमा मागेकै आधारमा हामीले विश्वासको मत दिने सहज जस्तो लाग्दैन् ।’
पाण्डेले प्रचण्डलाई विश्वासको मत दिने अथवा नदिने, दिए संविधानको हित, राष्ट्रको हित के हुन सक्छ, यसको थप विश्लेसनका लागि २६ पुसमा विहान बैठक बस्ने र त्यसपछि निर्णय गर्ने बताए । प्रचण्डलाई विश्वासको मत दिएर बाहिर बस्नसक्ने समेत उनले बताए ।
उनले वर्तमान सरकारले ल्याउने नीति तथा कार्यक्रमको आधारमा समेत विश्वासको मत दिने अथवा नदिने प्रभाव पार्ने बताए ।