महोत्तरी, २८ वैशाख । “भैया, आई दिनेश बौवाके बड्का इज्जत भेटल, भगवान बौवाके सैदखन सद्बुद्धी दौथ” (दाजु, आज दिनेशबाबुले ठूलो इज्जत पाएछन्, भगवानले सधैं उनलाई (दिनेशलाई) सद्बुद्धी दिउन्) महोत्तरीको भङ्गाहा-४ रामनगरकी ५० वर्षीया राशोदेवी महतोले यो पङ्तिकारसँग भन्नुभयो । छोरा दिनेशकुमार महतोले आज बिहीबार काठमाण्डौंमा ‘विकास रत्न’ विभूषण पाउनु भएको खबर आफ्नालागि जीवनकै खास कुरा भएको राशोदेवी बताउनुहुन्छ ।

गरिबीलाई आफ्नै जीवनमा नजिकबाट नियालेकी/खेपेकी राशोदेवी अहिले उद्योग धन्दाबाट छोराले गरेको आर्थिक उन्नतिभन्दा आज पाएको सम्मान (विभूषण) लाई खास मान्नुहुन्छ । “बौवा कमौलक, परिवारके खुशी देलक , मुदा आजूक आनन्द अलग अई” (दिनेशबाबुले कमाए, परिवारलाई खुशी दिए , तर आजको खुशीको अलग आनन्द छ) राशो भन्नुहुन्छ, “दिनेश आई गरिब असहायके मदत कैलक, एहन कोई सुनबैछै त अपना मिलल सोनाक हारस बेसी खुशी मिलैय” (दिनेशले आज गरिब परिवारलाई सहयोग गरे भन्ने कसैले सुनाउँदा यो कुराले आपूmले पाएको सुनको गहनाभन्दा खुशी दिने गरेको छ) ।

कडा परिश्रम र लगनले घरको दुःख बिर्साउँदै गएका दिनेश अहिले जनकपुर क्षेत्रकै उद्योगपति कहलिनु भएको छ । पछिल्ला वर्षमा उद्योग धन्दाको विकास गरेर मुलुकलाई योगदान दिएका महतोलाई गत सम्बिधान दिवस (३ असोज २०७९) का अवसरमा नेपाल सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विकास रत्न’ दिइने घोषणा गरेअनुरुप आज गृहसचिब दिनेश भट्टराईले सो विभूषण महतोलाई हस्तान्तरण गर्नुभएको हो ।

राज्यबाट पाएको यो इज्जत अहिले महतो परिवारका लागि खुशी बनेको छ । दिनेशले काठमाण्डौमा विभूषण ग्रहण गर्नुभएलगत्तै यो खबर पाउनु भएका उहाँकी आमा राशोदेवी, पिता देवसुन्दर महतो र दाजु गणेशप्रसाद महतोमात्र नभई छरछिमेकमा समेत खुशीको माहोल देखिन्छ ।

गरिबी र अभाव छल्न दुई छोरा, एक छोरी र पतिसहित माइती गाउँ बसाइ सारेकी राशोको बस्तीमा सबैसँग माइती नाता छ । अहिले दिनेशले आर्थिक क्षेत्रमा एकपछि अर्को सफलता थप्दै जाँदा रामनगरबासी भाञ्जाको सफलतामा दङ्ग देखिन्छन् ।

“दिनेश भाञ्जालाई दुःख, अभाव र गरिबी केहो ? आफ्नै भोगाइबाट थाहा छ, त्यसैले दिनेशमा कहिल्यै अहङ्कार देखिएन, भाञ्जा गाउँघरको दुःखसुखमा सरसहयोग गर्नुहुन्छ” सो बस्तीका केशव बराल भन्नुहुन्छ, “सामाजिक काममा दिनेशको जाँगर प्रशंसनीय छ ।”

दिनेशले अहिले पाउनु भएको सम्मानले आफ्नो बस्तीकै नाउँ उचो भएको रामनगरबासी बताउँछन् । महतोले पाउनु भएको विभूषण अधिकारपत्रमा ‘नेपाल राष्ट्रको गौरव एबं नेपाली जनताको हित अभिवृद्धिमा तपाईबाट भएको उल्लेख्यनीय योगदानको सम्मानस्वरुप विकास रत्न पदकबाट विभूषण गरिएको छ , पदकको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईलाई थप सफलता प्राप्त हुनेछ’ उल्लेख छ । अहिले रामनगरबासी कतिपयले यो बेहोरा (व्यहोरा, विवरण) कण्ठस्त पारेका छन् ।

“म त दिनेशले पाएको सम्मानपत्र खररै भन्दिनसक्छु” पदकको व्यहोरा कण्ठस्त खरर्र सुनाउँदै माइत आएकी सुलोचनाले भन्नुभयो, “राशो दिदीले हामी सबैले गर्व गर्ने छोरो दिनुभएको छ ।”

समाजमा उदात्त सहयोगी भावनाको परिचय बनाउनुभएका महतो आफ्ना बस्ती ओरपरका कतिपय मठमन्दिर जिणर्ोद्धार गर्ने, गरिब बस्तीका महिलालाई लुगा दिने , भोकालाई ख्वाउने र गरिब छात्रछात्रालाई लेखपढ कार्यमा सघाउन पाउँदा खुशी हुने रामनगर बस्तीकै उहाँका समवयी माधव फुँयाल बताउनुहुन्छ ।

सामाजिक कामहरुमा अभिरुची राख्ने महतोले एक महिना पहिलेमात्र सशस्त्र प्रहरी वलको नक्टाझिज (धनुषा)वेस क्याम्प निर्माणका लागि दुई करोड ५० लाख मूल्यको पाँच कठ्ठा जग्गा उपलब्ध गराउनु भएको थियो ।

२०८० बैशाख २८, बिहीबार २१:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय