
महोत्तरी : खेलकुद युवा गतिविधि बढाउने भरपर्दो क्षेत्र भएको हुँदा यसको विकासमा स्थानीयतहदेखि नै पहल हुनपर्ने आवश्यकता औंल्याइएको छ ।
आज शनिबार नेपाल सितोरियो कराते सङ्घ महोत्तरीको कार्यालय उद्घाटनका अवसरमा सहभागीले यस्तो औंल्याएका हुन् । सङ्घको कार्यालय महोत्तरीको बर्दिबास-१ मा आज सञ्चालनमा आएको हो ।
खेल मुख्यत युवा सहभागी हुने क्षेत्र रहेको हुँदा यसक्षेत्रको विकासले सङ्गठित, अनुशासित र सुस्वस्थ्य समूह निर्माणमा सहयोग पुग्ने सहभागीहरुको भनाइ छ । समाजमा किशोर र युवा जमात नै लागुपदार्थ दुव्र्यशनजस्ता कुलतमा लागेका देखिने गरेको र यसको नियन्त्रणमा खेलकुद क्रियाकलाप सहयोगी हुने नेपाल कराते महासङ्घका केन्द्रीय सहअध्यक्ष दावा गुरुङ्ले बताउनुभयो ।
महासङ्घका केन्द्रीय सदस्य रामसिंह ठकुरी, मधेश प्रदेश अध्यक्ष रामचन्द्र ठाकुर, जिल्ला खेलकुद विकास समिति महोत्तरीका अध्यक्ष सुवासचन्द्रलाल कणर्सहितको सहभागिताको कार्यक्रममा महोत्तरीमा कार्यालय सञ्चालनमा आएसँगै अब कराते खेलको संस्थागत विकास हुने विश्वास गरिएको छ ।
कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षत्रीले नगरमा सबै विधाका खेलको समुचित विकासका लागि संस्थागत प्रयत्न अघि बढेको बताउनुभयो । “हामीले खेलजगतमा सकृय रहनुभएका हरुबाट नगर खेलकुद विकास समिति गठन गरेका छौं, समितिले छोटै अवधिमा खेलका विभिन्न विधाका प्रतिष्पर्धा आयोजन गरेका र गरिने क्रममा छन् ” नगर प्रमुख क्षत्रीले भन्नुभयो, बर्दिबासबाट खेललाई मधेशभरिमै चिनाउने गरी थप प्रयत्न अघि बढाइदैछन् ।”
नेपाल सितोरियो कराते सङ्घ महोत्तरीका अध्यक्ष देव लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख क्षत्री र महासङ्घका केन्द्रीय सहअध्यक्ष गुरुङ्ले संयुक्त रुपमा कार्यालय उद्घाटन गर्नुभएको हो ।