बर्दिबास। सर्पदंशका घटना बाक्लिदै गएबीच महोत्तरीको बर्दिबास-३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपचार उपकरण र सामग्री थपिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले बिभिन्न क्षेत्रबाट सहयोग जुटाउँदै केन्द्रलाई एन्टी स्नेक भेनम ओसार्न प्रयोग गरिने बाकस, भण्डारण गर्ने भ्याक्सिन फ्रिज, बिरामीको आपत्कालीन उपचारमा प्रयोग गरिने पोटेबल भ्यान्टिलेटर र अक्सिलेटरसहितका उपकरण आज बुधबार एक समारोहका बीच हस्तान्तरण गरेको हो । यी सामग्री रेडक्रस उपशाखाका संरक्षक तथा बर्दिबासका नगरप्रमुख प्रल्हाद क्षत्रीले केन्द्रका अध्यक्ष कृष्ण देवकोटालाई हस्तान्तरण गर्नुभएको हो ।

केन्द्रमा सर्पदंशका बिरामीको चाप बढ्दै गएका बेला अत्यन्त जरुरी उपकरण र सामग्रीको अभाव हुन नदिन केन्द्रलाई सहयोग गरिएको रेडक्रस उपशाखा सभापति रेवन्त कार्की ‘सुदीप’ को भनाइ छ । एन्टी स्नेक भेनम ओसार्न प्रयोग गरिने बाकस, भण्डारण गर्ने भ्याक्सिन फ्रिज, बिरामीको आपत्कालीन उपचारमा प्रयोग गरिने पोटेबल भ्यान्टिलेटर र अक्सिलेटरसहितका उपकरण बर्दिबास हेल्प फाउण्डेशन र बर्दिबास नगरपालिकाको सहयोगबाट जुटेको रेडक्रस उपशाखा बर्दिबासले जनाएको छ । नगरपालिकाले पोटेबल भ्यान्टिलेटर र अक्सिलेटरसहितका उपकरण र बर्दिबास हेल्प फाउण्डेशनले भ्याक्सिन फ्रिज खरिदका लागि नगद प्रबन्ध गरेका हुन् ।

केन्द्रमा भ्याक्सिन भण्डारण गर्ने एकमात्र पुरानो फ्रिज रहेको जानकारी पाएपछि यो जुटाउन पर्छ भन्ने लागेर आपूmले सहयोग अपिल गर्दा नयाँ सामग्री किन्ने रकम प्राप्त भएको सभापति कार्कीले बताउनुभयो । आज केन्द्रलाई प्राप्त भएका सामग्री (उपकरण) उपचार कार्यमा अति महत्वका रहेका केन्द्रका अध्यक्ष देवकोटाले बताउनुभयो । यिमध्ये पोटेबल भेन्टिलेटर र अक्सिलेटर सिकिस्त बिरामीलाई उपचार गर्दै सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याउन सहयोगी हुने केन्द्रका अध्यक्ष देवकोटाले स्पष्ट पार्नुभयो ।

‘सर्पको खानी’ उपनाम पाएको बर्दिबासमा सर्पदंशबाट मानवीय क्षति बढ्दै गएपछि सामुदायिक रुपमा विक्रम सम्वत् २०७१ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको केन्द्रमा स्थापनाकालदेखि नै उपचार कार्यमा नेपाली सेनाका छ जनाको दक्ष प्राविधिक टोलीले सेवा दिदै आएको छ । केन्द्रले हालसम्म ३३ हजार भन्दाबढी बिरामीले उपचार सेवा लिएका जनाएको छ ।

२०८० जेष्ठ २५, बिहीबार १५:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय