बर्दिबास : अहिलेको प्रचण्ड गर्मीको रापबीच महोत्तरीको बर्दिबासमा चुनावी चहलपहलले राजनीतिक तापमान ह्वात्तै बढाएको छ ।

बर्दिबास जनता बहुमुखी क्याम्पस बर्दिबास-१४ महोत्तरीको प्राज्ञसभा (क्याम्पससभा) को व्यवस्थापन समिति निर्वाचनले यहाँ राजनीतिक चहलपहल बढाएको हो । आउने असार दुई (२) गते हुने निर्वाचनका लागि आज सोमबार उमेद्वारले मनोनयनपत्र दाखिला (दर्ता) गरेका छन् ।

एक अध्यक्ष, एक उपाध्यक्ष, मधेशी, जनजाति, महिला र दलित आरक्षित क्षेत्रबाट एक/एक सदस्य र पाँच खुला सदस्य गरी जम्मा ११ पदका लागि २३ जनाले उमेद्वारी दर्ता गराएका क्याम्पस निर्वाचन समितिले जनाएको छ । जसमा अध्यक्ष पदमा दुई, उपाध्यक्षमा तीन, मधेशी, जनजाति, महिला र दलित आरक्षित क्षेत्रका सदस्यमा दुई/दुई र खुला सदस्य पदका लागि १० जनाले उमेद्वारी दर्ता गराउनु भएको निर्वाचन समितिका संयोजक दिलिपकुमार तिवारीले जानकारी दिनुभयो ।

निर्वाचनमा उमेद्वारको दलीय हैसियत नहुने भएपनि यहाँका राजनीतिक दलले आआफ्ना प्यानल भन्दै उमेद्वार घोषणा गरेका छन् । निवर्तमान अध्यक्ष गुञ्जबहादुर खड्का नेतृत्वमा एमाले समर्थित र भरत हमाल नेतृत्वमा नेपाली काँग्रेस, नेकपा माओवादीकेन्द्र र स्वतन्त्र समर्थित गरी दुई प्यानल देखिएका छन् । उपाध्यक्ष पदमा भने दुबै प्यानलमा नरहेका थप एकको उमेद्वारी दर्ता भएको छ ।

विक्रम सम्वत् २०६४ सालमा स्थापित यो क्याम्पसको यसपालि चौथो कार्यकालका लागि निर्वाचन हुन लागेको हो । प्राज्ञसभामा कूल २२२ सदस्य रहेका निर्वाचन समितिले जनाएको छ ।

बर्दिबासमा यसपालि पछिल्लो छ महिनायता लगातार चुनावी चहलपहल हुँदै आएको छ । गत पुसमा बर्दिबास उद्योग वाणिज्य सङ्घ र फागुनमा बर्दिबास साना सहरी खानेपानी तथा सरसफाई संस्थाको निर्वाचन सम्पन्न भएको थियो । ती सम्पन्न निर्वाचनमा पनि दलीय समर्थनका उमेद्वारबीच प्रतिष्पर्धा भएको थियो । केही महिनाका फरकमा यहाँको उद्योग वाणिज्य, पानी र सरसफाई व्यवस्थापनको मुख्य जिम्मेवारीको सामाजिक र अहिले शैक्षिक क्षेत्रसम्बन्धित निर्वाचन भइरहँदा सन् २०२३ यहाँका लागि निर्वाचन वर्षजस्तै बनेको बर्दिबासबासी बताउँछन् ।

२०८० जेष्ठ २९, सोमबार २०:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय