महोत्तरी : “न धान रोप्न पाइयो, न अब अरु बाली लाउन पाउने आश ! अब हुन्छ, हामी किसानको उठिबास…!” गीति कविताको शैलीमा महोत्तरीको भङ्गाहा-४ रामनगरका ८४ वर्षीय किसान छविलाल दहालले मनको बह पोख्नुभयो । लामो खडेरीले धान रोप्न नपाएपछि अब जोतखन गरेर अन्य बाली लगाउने तरखर गरेका बेला खेतबारी जलाम्य भएपछि अब के गर्ने भन्ने चिन्ताले ८४ वर्षीय दहाललाई पिरोलेको छ ।

“दुःखजिलो गरेर राखेको धानको बीउ ब्याडमै बुढियो, डढ्यो” दहाल भन्नुहुन्छ, “साउन तेस्रो साता बित्दैगर्दासम्म पानी नपरेपछि अब सुख्खा बाली लाउनपर्ला भन्ने थियो, सोमबार रातीको मुशलधार वर्षाले सबैतिर जलाम्य बनायो ।” अब जलाम्य खेतमा रोप्न धानको बीउ नभएको र अन्य बाली जलाम्य खेतमा नलाग्ने भएपछि गर्ने कामको भेउ नपाएर मन छटपटिएको दहाल बताउनुहुन्छ ।

दहालमात्र नभएर ढिलो साउने वर्षाले थुप्रै किसान रनभुल्ल परेका छन् । बर्सेनिजसो दुई बिघा क्षेत्रफलमा धान लगाउँदै आउनु भएका सो बस्तीकै हरिदेव साह यसपालि धानको गब (हिल्याइएको खेतमा रोपिने धानको बीउ ) नै नलगाइएको बताउनुहुन्छ । लामो खडेरीले बीउ सुकेपछि अब तरकारी , तील र अन्य सुख्खा बाली लगाउने सोचिएका बेला पछिल्लो वर्षाले त्यो पनि नदिएको साहको बेचैनी छ ।

“धान रोप्न पाइएन, अरु बाली लाउने आश पनि मर्‍यो”गत आइतबारयताको वर्षाले जलाम्य खेत देखाउँदै साहले भन्नुभयो, “अब पानी नथपिदा पनि खेतबारी जोतखन गर्ने गरी रुखिन धेरै दिन पर्खन पर्छ ।” खेतीपाती सबै आकासे पानीको भरमा गर्नुपर्दा आपूmहरुका खेती योजना सफलिभूत नभएका साह बताउनुहुन्छ ।

जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिदै आइएको छ । तर आकासे पानीकै भरमा गरिनु पर्ने खेतीमा पानीको तुक नमिल्दा जिल्लामा विगत वर्षहरुमा पनि ४५ हजार हेक्टरको सेरोफेरोमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरको तथ्याङ्क छ ।

कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा कुलो/नहर पुगेको छ । यी कुलो/ नहरका पानीका स्रोत नदी, खोल्साखोल्सीका मूहान यसपालि लामो खडेरीले सुकेपछि राम्ररी पानी नचल्दा अपेक्षित धान रोपाइँ हुन नसकेको किसान बताउँछन् । “हेर्दा त बाँध, कुलो, नहर देखिन्छ नि, तर नदीको मूहान नै सुकेपछि मध्य असारमै पानी चल्न छाड्यो” कुलो/नहरको सिंचित क्षेत्र मानिने भङ्गाहा-८ धर्मपुरका ६० वर्षीय किसान रामसागर राउत भन्नुहुन्छ, “कसैगरी दुखजिलो रोपिएको धानपनि पछिको खडेरीले खायो ।” बीउको रोपो खडेरीले गाँजिन नपाएपछि खरुअन (बीउ रोप राम्ररी गाँजिएपछि त्यो उखेलेर रोपिने धानको कलम) नसप्रदा अहिलेको वर्षा उही पहिलेको रोपो जगाउनमात्र काम लागेको राउतको भनाइ छ ।

“बीउ रोप राम्ररी गाँजिएको भए अहिलेको पानीमा अलि ढिलै भएपनि खरुअन लगाइन्थ्यो, तर लामो खडेरीले रोपो नगाँजिएपछि अब थप रोपाइँ चल्ने आश रहेन” राउतकै छिमेकी उपेन्द्र चौधरी थारु भन्नुहुन्छ ।

मधेशमा सामान्यतया मध्य जेठभित्र ब्याड तयार गरेर बीउ राख्ने, मध्य असारभित्र बीउको रोप सक्ने र मध्य साउनभित्र खरुअन (पहिलो बीउको रोपो गाँजिएपछि त्यो उखलेर रोपिने, कलम) रोपिने तालिका रहँदै आएको छ । यसपालि किसानले पानी नपरेपनि पछि पर्ने आशले करेसाबारी, घुर्‍यानमा बीउ राखे । तर त्यसयता पानी नपर्दा न बीउको रोप हुन सक्यो , न खरुअन हुने भयो । बीउ ब्याडमै बुढियो, कति डढ्यो । धान रोप्न नपाएपछि अब सुख्खाबाली लगाउने तयारीका बेला मुशलधार पानी परेपछि किसान बिलखबन्द परेका हुन् ।

खरुअनको रोप मध्य साउनसम्म मानिए पनि पानीको तुक मिल्दा यहाँ स्थानीय जातका धान साउन अन्त्यसम्मै रोपिन्छ । तर यसपालि पहिलेको बीउ रोप नसप्रिदा खरुअन नहुने भएपछि अहिलेको वर्षा थप रोपाइँलाई उपयोगी नभएको किसान बताउँछन् ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये धान रोपाइँ हुनै नसकेका पाँचमाथि छन् । त्यस्तै केहीमा १० , २० र एक/दुई स्थानीयतहमा ४० प्रतिशतसम्म धान रोपाइँ भएको तथ्याङ्क कृषि ज्ञान केन्द्र महोत्तरीको अभिलेखमा छ । जिल्लाभरिको सालाखाला प्रतिशत बनाइँदा यो २५ प्रतिशत नाघेको छैन । जिल्लाको मुख्यबाली मानिएको धान लगाउन नपाइएको र अब पछिल्लो वर्षाको पानीले जलाम्य जग्गामा तत्काल अन्य कुनै वैकल्पिक बाली लगाउन नसकिने भएपछि यसपालि खाद्यान्न सङ्कटको चिन्ताले किसानलाई पिरोलेको हो ।

“सबैभन्दा दुख्याहा कर्म नै हामी किसानको रहेछ” आफ्नो कर्मक्षेत्रलाई कोस्दै (धिक्कार्दै) बर्दिबास-९ पशुपतिनगरका किसान महेन्द्र महतो भन्नुहुन्छ, “न दुःख देख्ने कोही छन् , न भरथेग गर्ने !” समय अलि प्रतिकूल भएर बालीनालीमा असर पर्ने भएपछि लालाबालाको गुजाराको चिन्ताले गलाउने गरेको महतो बताउनुहुन्छ । भन्नलाई तीनतहका सरकार भएपनि किसानको दुःखमा उभिन कोही नआएका महतोसहितका किसान बताउँछन् ।

पछिल्लो पटक अन्न सङ्कट बढ्ने किसानको चिन्ता उचित रहेको कृषि क्षेत्रकै सरकारी सेवाबाट अवकास लिनुभएका कृषि विज्ञ भङ्गाहा-५ सीतापुरका रामबहादुर भुजेल बताउनुहुन्छ । नेपाल सरकारका सहसचिब रहीसक्नुभएका भुजेलको अब तीनै तहका सरकारका कृषिसम्बद्ध निकायको समन्वयमा पिरोलिएका किसानलाई राहत पुर्‍याउने योजनासाथ नयाँ कार्यक्रम बनिन पर्ने सुझाव छ ।

२०८० श्रावण २५, बिहीबार १९:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय