
मटिहानी (महोत्तरी) । महोत्तरीमा धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वको जलसागर तलाउ तटमा निर्मित सामुदायिक भवन सञ्चालन भएको छ ।
मटिहानी-६ मा नवनिर्मित दुई कोठे सामुदायिक भवन बुधबार मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा र मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले संयुक्त रुपमा उद्घाटन गर्नुभएसँगै सञ्चालनमा आएको हो । भारतीय सीमा नजिकको जलसागरले जिल्लाका दुई धार्मिक नगरी जलेश्वर र मटिहानीको सीमा पनि छुट्याउँछ ।
मधेश प्रदेशको सामाजिक विकास इकाई जनकपुरधामको २० लाख आर्थिक सहयोगमा सामुदायिक भवन निर्माण सम्पन्न भएको हो । भवन सञ्चालनमा आएपछि आउजाउ गर्ने पर्यटकलाई मनोरम जलसागर तलाउ तटमा आराम र अवलोकन गर्न सजिलो हुने मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । जलसागर करिब पाँच बिघा क्षेत्रफल पनियाउ (पानी भएको) भएको तलाउ हो ।
सुरक्षा दृष्टिले पनि अति सम्वेदनशील मानिदै आइएको सो ठाउँमै एक दशक पहिले सशस्त्र प्रहरीको जिल्लास्थित गण स्थापित भएको छ । चारैतिरका बस्तीबाट दुई किलोमीटरको दुरीबीच अवस्थित जलसागरमा सामुदायिक भवन सञ्चालनमा आएपछि छठ पर्वका उपासकका लागि निकै सजिलो हुने अपेक्षा गरिएको छ । जलेश्वर-मटिहानी सडक छेउमा निर्मित सामुदायिक भवन धार्मिक, साँस्कृतिक, सामाजिक र अन्य सार्वजनिक चासोका कार्यक्रम सञ्चालन गर्न पनि सहयोगी हुने मटिहानी-६ का वडाअध्यक्ष कलिम अन्सारी बताउनुहुन्छ ।