
ममता अर्याल,
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले आउने स्थानीयतहको निर्वाचनमा पनि आफैं निर्वाचित हुने दाबी गर्नुभएको छ ।
आज मङ्गलबार बर्दिबास-३ पाटुस्थित जनजागृति माध्यमिक विद्यालयको स्वणर् महोत्सव समारोहमा मधेश प्रदेशका मुख्यमन्त्रीकै अघि नगरप्रमुख क्षत्रीले फेरि पनि आफैं निर्वाचित हुने दाबी गर्नुभएको हो । यस कार्यकालका आफ्ना जनपक्षीय कामले फेरि पनि आफैं उमेद्वार हुने र निर्वाचित हुने उहाँको दाबी छ ।
विक्रम सम्वत् २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट ‘बगावत’ गरेर स्वतन्त्र हैसियतमा निर्वाचित हुनुभएका क्षत्री केही महिना पहिलेमात्र फेरि काँग्रेसमा फर्कनु भएको छ । यद्यपि बर्दिबास काँग्रेस अहिले पनि ‘गाछी’ (रुख) र ‘घोडा’ का उपनामले चिनिदै बुझिदै छ । “उहाँ त दलको अनुशासनमा अटाउने चरित्रको मान्छे नै हैन, २०७९ मा पार्टी उमेद्वारविरुद्ध बगावत गर्नुभयो, अहिले आफैं उमेद्वार बन्ने स्वघोषणा गर्दै हुनुहुन्छ” आपूmलाई ‘गाछी’ काँग्रेस बताउने एक नेताले टिप्पणी गर्नुभयो ।
यता नगरप्रमुख क्षत्रीसँगै काँग्रेस फर्केका ‘घोडा’ काँग्रेस भने उहाँ (प्रमुख) को आउने निर्वाचनमा अर्को विकल्प नहुने बताउँछन् । “को छ उहाँलाई टक्कर दिने ?” नाउँ उल्लेख नगरीदिन भन्दै उहाँले भन्नुभयो, “उहाँले आज पहिलो पटक हो र ? एक महिना पहिले नै पत्रकारसँगको कुराकानीमा अर्को चुनावमा पनि आफैं उमेद्वार हुने बताइसक्नु भएको हो नि ।” करिब एक महिना पहिले नगरप्रमुखले आफ्नै कार्यकक्षमा पत्रकारसँगको सामुहिक कुराकानीमा फेरि आफैं उमेद्वार बन्ने बताउनु भएको स्मरण गराउनुभयो ।
यसअघि २०७४ को स्थानीयतह र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसको आधिकारिक उमेद्वार भएर हार्नुभएका क्षत्रीको मुख्य परिचय एक सफल क्रसर व्यवसायी (बालढुङ्गाको ब्यापार) को रुपमा छ । आफ्नो विगत परिचयअनुसार नगरप्रमुख क्षत्री अहिले पनि बर्दिबासका दलहरुको विरोधका वावजूद रातु नदी उत्खनन् नरोकिने बताउनुहुन्छ । उहाँले आजैपनि सोही समारोहमा नदी उत्खनन् जारी रहने बताउनुभयो । यद्यपि उत्खनन् गरिदा विधि र मापदण्डको पालना गरिने उहाँको स्पष्टोक्ति थियो ।
“यसअघि बालुढुङ्गाबाट भाग खान पल्केका अहिले मेरो कडाइले भाग पाउँदैनन् , त्यसैले उत्खनन्को कुरामा बिभिन्न भाँजो हाल्न खोज्छन्”क्षत्रीले भन्नुभयो, “सारा विकास निर्माणका कामका लागि चुलिदै गएको बालुको थुप्रा निकाल्नै पर्छ, हो यसमा मापदण्ड नाघिदैन ।” नगरप्रमुख क्षत्रीले मापदण्ड पालनाको कुरा गरेपनि रातुमा केही साता अघिसम्म अनियन्त्रित उत्खनन् गरिएको नेपाली काँग्रेस, एमाले, माओवादीकेन्द्र, जसपा, जनमत , राप्रपा र लोसपासहितका दलका प्रतिनिधिको आरोप छ ।
नगरप्रमुख क्षत्रीले फेरि पनि आफैं उमेद्वार हुने खुलमखुल्ला बताउन थालेपछि नेपाली काँग्रेसभित्र भने हल्लीखल्ली सुरु भएको छ । ‘गाछी’काँग्रेस भनेर चिनिनेहरु अहिले नगरप्रमुख क्षत्रीको यो घोषणाको पोल उपल्लो तहका नेतानिर पुर्याइरहेका भेटिन्छन् ।