
नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।
जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो ।
रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो सेमिफाइनल खेल भएको थियो । टस जितेर सिरहा टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । सिरहाका खेलाडीहरु ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ४७ रनको लक्ष्य महोत्तरी टिम समक्ष प्रस्तुत गरेका थिए ।
सिरहाका लागि रुपेश सिंह सार्वधिक ३५ बलमा ३४, अशोक यादव ३५ बलमा २१, ओपनर शैलेन्द्र साह २० बलमा १७ र रिसब कार्की १९ बलमा १७ रनको योगदान दिए । यस टिमका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सिरहाको पहिलो विकेट २३ रनमै पवलेलियन फर्किएका थिए ।
महोत्तरीका लागि बलिङ गरेका नितेश यादवले कशिलो बलिङ गरेका थिए । उनले आठ ओभरमा २८ रन खर्चेर चार विकेट लिए । महोत्तरीकै लागि विनोद सहनी तीन, अभिषेक तिवारी दुई र रमेश सहनीले एक विकेट लिएका थिए । मध्यम लक्ष्य पाएका महोत्तरी जवाफी ब्याटिङमा कमजोर देखिएका थिए ।
महोत्तरीका खेलाडीहरु २९ ओभर दुई बलमै सबै विकेट गुमाए । र, टिमको स्कोर पनि उच्च राख्न सकेनन् । ७८ रनमै सबै विकेट गुमाएका महोत्तरी प्रतियोगिताकै सबैभन्दा कम स्कोर बनाउने टिम छन् । महोत्तरीका लागि नविन यादवले ५५ बलमा २१ रन टिमको खातामा जोडे ।
महोत्तरीकै रवि कुमार सिहंले १९ बलमा १८ र श्याम मण्डलले ४३ बलमा १३ रन बनाए । सिरहाका लागि बलिङ गरेका पार्थिव यादवले तीन, तृपेश्वर मुखियाले तीन, प्रदिप पासवानले दुई र अफरुदिन राइनले एक विकेट लिए ।
यस खेलको म्यान अफ दी म्याच पार्थिव यादव घोषित भएका थिए । दोश्रो सेमिफाइल विहीबार धनुषा र बारा बीच हुने खेल तालिका छ । दोश्रो सेमिफाइनलको विजयी टिम फाइनलमा सिरहासंग प्रतिस्पर्धा गर्ने छन् । म्याच आँफ दी म्याच पार्थिव यादवलाई प्रदेश सांसद रुपा यादवले नगद र शिल्ड प्रदान गर्दै आगामी यात्राको लागि शुभकामना दिए ।