
नेपालवाणी डटकम ।
जनकपुरधाम, माघ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालको सेवामा सुधार भएको छ । प्रादेशिक अस्पतालले एक वर्ष अघिको तुलनामा अहिले ४० प्रतिशतले सेवामा सुधार गरेको हो । अस्पतालको अनुगमन मूल्यांकन पद्दतिमा प्रदेश सरकारले प्रादेशिक अस्पतालको सेवा र व्यवस्थापन सुधार गर्दै गएको जनाएको छ ।
मधेश प्रदेशलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउँन, जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्य सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानको प्रवद्र्धन तथा आवश्यक जनशक्ति तयारमा सहयोग गर्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालले सेवामा सुधार गरेको हो ।
मधेशमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको उद्देश्य बोकी प्रतिष्ठानको स्थापना गरिएसंगै आधुनिक चिकित्साशास्त्र र स्वास्थ्य क्षेत्रमा स्नातक तह, स्नातकोत्तर लगायत स्वास्थ्य सम्बन्धी विभिन्न विषयहरुमा अध्ययन अध्यापन तथा अनुसन्धानले तीव्रता पाएपछि अस्पतालको सेवा सुध्रिएको हो ।
प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत स्वास्थ्यका कर्मचारीहरु समेत प्रतिष्ठान अन्तर्गत रहेकोले स्वास्थ्यमा योग्य जनशक्ति तयार गर्न, स्वास्थ्य सम्बन्धी शिक्षण, प्रशिक्षण तथा अनुसन्धानको व्यवस्था, स्वास्थ्य सेवाको उपयोगिता र उपादेयतामा उपलब्धि ल्याउन सकेको रजिष्टार डा. विनोद कुमार यादवले बताए ।
उनले भने, ‘जनमानसमा जागरुकता अभिवृद्धि गर्ने, गराउने देखि लिएर स्वास्थ्य सम्बन्धी नीति एवं स्वास्थ्य क्षेत्रको विकासमा सम्बन्धित निकायमा राय, सुझाव, परामर्श दिने लगायतका मुख्य कामहरु हामीले गर्दै आएका छौं ।’
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद कुमार यादवले अस्पताल सुधार बारे उनले भने, ‘अञ्चल अस्पतालकै संरचना प्रयोग गरेर ३० प्रतिशत बढी सेवा पाईरहेको छ । पुरानै संरचनामा विशिष्टिकृत सेवा यूरोलोजी सहितका नयाँ सेवा सुचारु गरेको छौं । निकट भविष्यमा क्याथल्याव समेत सुरु गर्दैछौं ।’
डा. यादवले डाईनोष्टिकको रुपमा प्रयोगशाला, एक्स–रे लगायतको अन्य सेवा सुरु गरिसकेको जानकारी दिए । उनले पहिलेको अस्पताल र अहिलेको अस्पतालमा आकाश पातालको फरक छ । सरसफाई देखि लिएर पार्किङ्ग, गार्डेनिङ्ग लगायत सबै सुधार भएको दाबी गरे ।