महोत्तरी, २२ असार । स्वास्थ्यवर्धक तथा बहुगुणकारी फल कागती बढाउन महोत्तरीको मटिहानी नगरपालिकाले अभियान थालेको छ । पछिल्ला पाँच वर्षयता बर्सेनि बर्खायाममा फलपूmल रोपणमा किसानलाई प्रोत्साहन दिदै आएको मटिहानी नगरपालिकाले यसपालि कागती रोप्न किसानलाई हौस्याएको हो । कागती रोपण आज मटिहानी-७ बाट थालिएको छ ।

आज शनिबार कागतीका विरुवा वितरण थालेको मटिहानी नगरपालिकाले असारभित्र १० हजार कागतीका बिरुवा रोपिने जनाएको छ । किसानलाई प्राविधिक सल्लाहसहित निशुल्क बिरुवा उपलब्ध गराइने नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।

“हामी यसपालि कागती रोपणमा जुटेका छौं, आज यो अभियान थालियो”नगरप्रमुख मण्डल भन्नुहुन्छ, “यो गुणकारी फल स्वास्थ्य सचेतनाका लागि पनि अभियानमै रोपिन थालिएको हो ।” यसअघिका बर्खायाममा आँप, लिची, कटहर (रुख) र सपाटोसहितका फल रोपण गराएको नगरपालिकाले किसानलाई बिरुवा, मल र प्राविधिक रेखदेखको सहयोग गर्दै आएको छ ।

नगरपालिकाले बर्सेनि अन्नखेती, मखानखेती र फलपूmल खेतीलाई प्रबद्र्धन गर्न कृषि तथा पशु विकासमा आधारित नगर स्तरीय कार्यक्रम ‘किसानसँग नगर’ सञ्चालन गर्दै आएको छ । यसक्रममा अन्नबालीका बीउ, मल, कृषि ज्यावल र यन्त्र, मखानको बजारिकरण , फलपूmलका बिरुवा र प्राविधिक सहयोग गरिदै आइएको मटिहानी नगर कार्यपालिकाको कार्यालयको कृषि शाखाले जनाएको छ । यसका अतिरिक्त वैकल्पिक सिँचाइका लागि बोरिङ्ग जडान गरिएका कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले बताउनुभयो ।

 

यसपालि नगरक्षेत्रका सबै बस्तीमा कागती रोपण गरिने शाखाले जनाएको छ । मटिहानी भारतसँग जोडिएको नगरपालिका हो । मटिहानी नगरक्षेत्रसँगै जोडिएका भारतका पाँचभन्दा बढी हाट छन् । यी हाटमा अहिले पनि नेपाली किसानले आफ्ना उत्पादन बेच्दै आएका छन् ।

कागतीको बजार आफ्नै ओरपरका हाट र छिमेकको भारतका हटियाहरु हुने किसानको विश्वास छ । “उत्पादित फसल स्थानीय बजारमै खपत हुँदै आएको छ, त्यसैगरी भारतका हाटमा पनि हाम्रा फसल लगिन्छन्” मटिहानी-७ का किसान बैजनाथ कापर भन्नुहुन्छ, “कागतीको पनि हाम्रै ओरीपरी राम्रो बजार छ ।”

मटिहानी नगरपालिकाले धान, गहुँ र फलपूmलमा आफ्नो नगर पूरै आत्मनिर्भर हुने योजनासाथ अघि बढेको जनाएको छ । यसैगरी मटिहानी मखानखेतीका लागि जिल्लाकै उर्वर ठाउँ रहँदै आएको नगरप्रमुख मण्डल बताउनुहुन्छ ।

 

 

 

 

२०८१ असार २२, शनिबार २१:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय