बर्दिबास, ३० असार ।

आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ति समारोहमा १३ जना छात्रछात्रा पुरस्कृत भएका छन् । महोत्तरीको बर्दिबासमा बर्दिबास हेल्प फाउण्डेसनले बर्दिबास नगरपालिकाको सहयोगमा शनिबार आयोजना गरेको तेस्रो नगर स्तरीय अन्तर मावि कविता प्रतियोगितामा १३ जना छात्रछात्रा पुरस्कृत भएका हुन् ।ं

कविता प्रतियोगितामा एक/एक जनालाई पहिलो, दोस्रो र तेस्रो एबं १० जनालाई सान्त्वना पुरस्कार दिइएको हो । आदिकवि भानुभक्तको जीवनी, उत्प्रेरणा र रचनाक्षेत्रमा उहाँको योगदानको विषयबस्तु समेटिएका कविता लेखन तथा वाचन प्रतियोगितामा प्रमिला श्रेष्ठ, प्रतिज्ञा बराल र अमिशा माझीले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका छन् । पहिलो , दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५, १० र सात हजार नगद र कदरपत्र प्रदान गरिएको छ । यसैगरी १० जनालाई जनही एक/एक हजार नगद र कदरपत्र प्रदान गरिएको फाउण्डेसनका समारोह संयोजक सुमित्रा भट्टराईले जानकारी दिनुभयो । उत्कृष्ट प्रतियोगी भाषा, साहित्य साधकहरु प्रल्लास सिन्धुलीय, माधव काफ्ले र मुकुन्द पौडेल सम्मिलित निणर्ायक मण्डलले छनौट गरेको हो । प्रतियोगितामा नगरका १६ माध्यमिक विद्यालयका ४८ जना छात्रछात्रा सहभागी थिए ।

हेल्प फाउण्डेसनले पछिल्ला तीन वर्षयता बर्सेनि बर्दिबास नगरपालिकाको सहयोगमा भानु जन्मजयन्तिका अवसरमा अन्तर मावि कविता प्रतियोगिता आयोजना गर्दै आएको छ । राष्ट्रिय विभूतिहरुको सम्झनामा यस्ता कार्यक्रम आयोजना गर्ने सामाजिक सङ्घसंस्थालाई निरन्तर सहयोग गरिने बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले बताउनुभयो ।

यसअघि कविता प्रतियोगिताको प्रारम्भमा आयोजित उद्घाटनसत्रमा भाषा, साहित्य र कलाक्षेत्रका साधकहरुले बर्दिबासमा आदिकवि भानुभक्त आचार्यको शालिग निर्माण गर्न नगर नेतृत्वको ध्यानाकर्षण गराएका थिए । कार्यक्रम बर्दिबास हेल्प फाउण्डेशनका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०८१ असार ३०, आईतवार १२:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय