बर्दिबास (महोत्तरी) , ३० साउन ।

हाम्रो मायाघर निर्माणका लागि सहयोगार्थ बर्दिबासमा आयोजित शिवपुराण महायज्ञ सबैप्रति सामाजिक तथा धार्मिक सद्भावको सन्देश प्रवाह गर्दै मङ्गलबार सम्पन्न भएको छ । सनातन हिन्दू परम्पराको महायज्ञमा फरकफरक धर्मावलम्बी र समुदायको चासोले यसले सबैमा धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिएको समापन कार्यक्रममा वक्ताले धारणा व्यक्त गरेका छन् ।

महायज्ञको आठौं दिन साँझ आयोजित लक्षदीप (लाखबत्ती) प्रज्वलित गर्ने कार्यक्रम नै सोमबार इस्लाम धर्मावलम्बीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मिञाँले बताउनुभएको महायज्ञले सबैप्रति सम्मानभाव र परोपकारमा लाग्न सन्देश प्रवाह गरेको कुरा समापन कार्यक्रममा वक्ताले स्मरण गरे ।

“हामीले आठौं दिनको कार्यक्रममा सहभागिताका लागि मन्त्रीजी (सकिल अलि मिञाँ) लाई अनुरोध गर्‍यौं, उहाँले स्वीकार गरेर सहभागी हुनुभयो” शिवपुराण महायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले भन्नुभयो, “यसले हामीलाई फरकफरक धर्म, जाति समुदायबीच आपसी एकताको सन्देश प्रवाह गरेको छ ।” यतिमात्र नभएर मन्त्री मिञाँले हाम्रो मायाघर निर्माण कार्यमा प्रदेश सरकारको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि गौतमले स्मरण गर्नुभयो ।

महायज्ञमा सरिक भएर इस्लाम धर्मावलम्बीले त संस्थागत सहयोग नै गरेका समितिको आर्थिक उपसमितिका संयोजक शम्भुप्रसाद भट्टराईले बताउनुभयो । महायज्ञमा बर्दिबास मुस्लिम समाजका प्रतिनिधि सरिक भएर ३० हजार सहयोग गरेका पक्ष आफ्नो समाजको धार्मिक सद्भावको उच्चतम नमुना भएको भट्टराईको कथन छ । “यहाँ इस्लाम धर्मावलम्बीको जलसा (इस्लाम धर्मावलम्बीको धार्मिक अनुष्ठान) मा हिन्दू सरिक भएर शुभकामना दिन्छन् , त्यस्तै हिन्दूका चाडपर्वमा इस्लाम सरिक हुन्छन् , हामीबीच आपसी एकता र भाइचारा छ” मन्त्री सकिलको भनाइ उद्धृत गर्दै भट्टराईले भन्नुभयो, “इस्लाम धर्मावलम्बीबाट पाएको यो स्नेह र सद्भाव नै महायज्ञको सफल समापनको सन्देश हो ।”

प्रसिद्ध पुराणवाचिका राधिका दासी नेतृत्वको पण्डित टोलीले कर्मकाण्ड, पाठ पारायण र कथावाचन गरिएको महायज्ञ साउन २१ गते सुरु भई हिजो मङ्गलबार साँझ समापन भएको हो । महायज्ञमा हाम्रो मायाघर निर्माणार्थ दाताहरुबाट दुई करोड सहयोग प्राप्त भएको आर्थिक उपसमितिले जनाएको छ ।

समापन कार्यक्रममा राष्ट्रियसभाका सदस्य विष्णुकुमारी सापकोटा, मधेश प्रदेशसभा सदस्य शारदा थापा र पुराणवाचिका राधिका दासीले बर्दिबासमा सामाजिक सेवा भावले आयोजित महायज्ञको सफल समापन भएको बताउनुभयो । तीनैजनाले हाम्रो मायाघर निर्माणमा मन, वचन र कर्मले जोडिएर सहयोग गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

हाम्रो मायाघर निर्माणका लागि बर्दिबास-२ मा दाताहरुबाट पाँच कठ्ठा १० धुर जग्गा प्राप्त भई सोको पक्की पर्खालको घेराबेरा पनि भइसकेको छ । भवन निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव पनि तयार छ । कूल १० करोड ६९ लाखको लागतमा दुईवटा भवन बनिने प्रस्ताव छ । आधुनिक सुविधासहितको अपाङ्ग तथा बालमैत्री बन्नका साथै भूकम्प प्रतिरोधी हुने हाम्रो मायाघर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतम बताउनुहुन्छ । हाम्रो मायाघरको आज बुधबार सााझ शिलान्यास गरिने कार्यक्रम छ ।

खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितका दुई भवनमध्ये एउटा दुई तले र अर्को चारतलेमा गरी १२ कोठा हुनेछन् । जसमा सभा भवन, कृडाकक्ष र अध्ययनकक्ष छन् । जम्मा २०० सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्धसमेत गरिने समितिले जनाएको छ । भवन निर्माणको काम पाँच वर्षभित्रै सम्पन्न गरिने अध्यक्ष गौतमको भनाइ छ ।

 

२०८१ श्रावण ३०, बुधबार १३:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय