गोविन्द महतो / जनकपुरधाम ।

महोत्तरीको एक पालिकामा अवैद्यानिक रुपमा हुलाकी सडक मिचेर ३३ केभीको प्रसारण लाईन विस्तार गर्दै गरेको पाईएको छ । महोत्तरीको गौशाला नगरपालिका १ रामनगर स्थित जंगल र गाउँ क्षेत्रभित्र हुलाकी सडकको क्षेत्राधिकार मिचेर अवैद्यानिक रुपमा ३३ केभिको प्रसारण लाईन विद्युत प्राधिकरण र उद्योगले जर्बजस्ती विस्तार गरेको पाईएको हो ।

हाल विस्तारको क्रममा रहेको बर्दिबास स्थित माईस्थान–गौशाला चोक भएर रामनगर जंगल हुँदै बस्तिबाट ३३ केभि प्रसारण लाईनको पोल गाड्न थालेपछि हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले पोल नगाड्न सहितको पत्र पठाएको छ । महोत्तरी गौशाला नगरपालिका १ ईटाटारमा स्थापित नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्राईभेट लिमिटेडको लागि विस्तार गर्न लागेको ३३ केभीको प्रसारण लाईनका लागि पोल गाड्ने क्रममा स्थानीयले विरोध जनाएपछि हुलाकी सडकले पनि सडकको क्षेत्राधिकार भित्र पोल नगाड्ने जिल्ला प्रशासन कार्यालय, महोत्तरी र गौशाला नगरपालिका तथा विद्युत प्राधिकरण प्रादेशिक कार्यालय, जनकपुर र वितरण केन्द्र गौशालालाई पत्र पठाएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामबाट २०८० भदौ २४ गते मधेश प्रदेश स्थित प्रादेशिक कार्यालय जनकपुर र गौशाला वितरण केन्द्रलाई हुलाकी सडक अन्तर्गत माईस्थान–गौशाला–सम्सी सडकको अधिकार क्षेत्र सडकको केन्द्रविन्दुबाट १५÷१५ मिटर दाँया–बाँया रहेकोले सो सिमा बाहिर पोल गाड्न सहमति दिएको छ । तर विद्युत प्राधिकरणले पेपर मिलसंग मिलेर सडकको सहमतिलाई अटेर गर्दै जर्बजस्ती जंगलमा पोल गाडेको र गाउँबस्तिमा गाड्न बल प्रयोगको कसरत गरिरहेको छ ।

रामनगरबाट पेपर मिल्सको लागि ३३ हजार केभिको विद्युत प्रसारण लाईनले वातावरणीय प्रभाव, शारिरीक जोखिम, वृक्षहरुको कटान तथा जीवजन्तु तथा वन्यजन्तुहरुमा समेत प्रतिकूल प्रभाव पर्ने भएकोले गाउँ बस्तिभन्दा टाढाबाट विद्युत लैजान आग्रह गर्दागर्दै पनि विद्युत र उद्योगले गाउँबाट लैजान जर्बजस्ती गरेपछि स्थानीयले अवरोध जनाएको छ ।

साथै हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले पुरानो सहमति कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै भनेको छ, ‘उपरोक्त सम्बन्धमा तहाँ कार्यालयको प.सं. २०८००८१, च.नंं. ७४, मिति २०८०/०५/०६ गतेको पत्रबाट ३३ के.भि. प्रसारण लाईन निर्माणको लागि यस योजना कार्यालयको कार्यक्षेत्रमा पर्ने सडकमा विद्युत पोल गाड्नको लागि सहमति माग भए अनुसार यस कार्यालयको प.सं. २०८०/०८१, च.नं. ११३ मिति २०८०/०५/२४ मा माईस्थान–गौशाला–सम्सी सडकको अधिकार क्षेत्र सडकको केन्द्र विन्दुबाट दायाँ/वायाँ १५ /१५ मीटर रहेकोले सो सीमा भन्दा बाहिर मात्र विद्युतीय पोल गाड्नको लागि सहमति दिइएको थियो । तर हाल आएर उक्त सडकका उपभोक्ता, स्थानीयवासी तथा सञ्चारकर्मीबाट सडकमै विद्युत पोल गाडिरहेको भन्ने सूचना प्राप्त भएकोले यसअघि दिएको सहमतिको अक्षरस पालन गरी सडक सीमा बाहिर मात्र विद्युत पोल गाड्न हुन जानकारी गराईन्छ । अन्यथा कार्यालय उक्त कार्यसंग सम्बन्धित कानुनी प्रक्रिया अपनाउन वाध्य हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।’

यता नेपाल विद्युत प्राधिकरणका मधेश प्रदेश, प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले हुलाकी सडकले खाली गराएर दिनुपर्ने अन्यथा सडक पिचको केही फिटमा हाललाई पोल गाडिएको बताए । उनले भने, ‘कि त सडकले खाली गराएर हामीलाई दिनुप¥यो, हैन भने हामी बल प्रयोग गरेर पनि लग्छौं । त्यहाँ गाउँको लाईन काटेर समेत लग्छौं ।’ पत्रकारसंगको जिज्ञासामा प्रमुख ठाकुरले गाउँलेले विरोध गरेर केही नहुने बताउँदै आज न भोली विद्युत उद्योगसम्म पु¥याएर छाड्ने दाबी गरे । उनले धम्कीपूर्ण शैलीमा भने, ‘रामनगर गाउँको लाईन काटेर भएपनि विद्युत उद्योगसम्म पु¥याउँछौं ।’

३३ हजार केभिको विद्युतको प्रसारण लाईन विस्तारमा तारमुनि घर बनाउन नपाईने, घरको नक्सा पास नहुने तथा लाईनिङ्ग क्षेत्रको जग्गा कौडिको भाउँमा परिणत हुने भएकोले गाउँलेहरुले विरोध गरिरहेको छ । गरिब दिन दुःखी बस्ने गाउँघरमा भएको घर र जग्गालाई पनि विद्युतीकरणको नाममा कौडि बनाउने सोचेर यहाँका जनताले अवरोध गरिरहेको संघर्ष समितिका संयोजक नरेश कुशवाहाले जानकारी दिए ।

२०८१ भाद्र ७, शुक्रबार २२:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय