
गोविन्द महतो / जनकपुरधाम
नेकपा माओवादी केन्द्र मधेश प्रदेशका नेता भरत साहलाई दुई महिना भित्र राजिनामा दिन प्रचण्डले निर्देशन दिएको छ । नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरत प्रसाद साहलाई दुई महिनाभित्र दलको नेताबाट राजिनामा दिन निर्देशन दिएको हो ।
मधेश प्रदेशको अर्थ मन्त्री भएको बेला भरत प्रसाद साहले व्यापक मनमौजी गर्दै आफ्ुखुशी योजना बाँडेको, संसदीय दलका सदस्यहरुलाई समेटन नसकेको तथा पटक–पटक केन्द्रको निर्णय विपरित सरकार ढाल्न चलखेल गरेको आरोप खेप्दै आएका उनलाई प्रचण्डले राजिनामा दिन निर्देशन दिएको बैठकमा सहभागि एक प्रदेशसभा सदस्यले जानकारी दिए । उनले भने, ‘मेरो नाम नलेख्दिनुस् है, सुप्रिमो प्रचण्डले नेता साहलाई दुई महिनाभित्र राजिनामा दिन निर्देशन दिनुभएको छ । यसले नेता साहको सहज पनि हुने र कारवाहीको पाटो पनि बन्द हुन भएकोले मध्यमार्गी बाटो पहिल्याएर यस्तो निर्देशन दिएको हो ।’
नेकपा माओवादी मधेश प्रदेशका दुई तिहाइ प्रदेशसभा सदस्यहरुले संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन गत अषाढ २५ गते अविश्वास प्रस्ताव पेश गरेको थियो । दलको नेतृत्वको विषयमा आफूहरूको विश्वास गुमेको कारणले ६ जना सांसदले साह विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए ।
मधेस प्रदेशमा माओवादीका ९ जना प्रदेश सभा सदस्य छन् । तीमध्ये प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साह विरुद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराई समक्ष पेश गरेका थिए । ‘करिब तीन हप्ता अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा भरतजीले व्यापक अनियमितता गर्नुभयो । गुटबन्दीमा लाग्नुभयो, एकलौटी गर्नुभयो । एक दुई जना बाहेक उहाँले कसैको कुरा सुन्नुभएन,’ अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका एक सांसदले भने, ‘पिएलएमबिआइएस सिस्टममा कर्मचारीले ह्याक गरी बजेटमा गडबडी गरेको भनी उहाँले वाहियात दोषारोपण गर्नुभयो जबकि त्यसमा उहाँले नै धेरै चलखेल गर्नुभएको हो ।’
काठमाण्डौंमा भएको बैठकबाट साह संसदीय दलका नेताबाट राजिनामा दिए पश्चात संसदीय दलको नेता चयन गरिने भएको श्रोतको भनाई छ ।