महोत्तरी , ९ कात्तिक: प्राणघातक र मानिसलाई अपाङ्ग बनाएर थल्याउने पोलियोविरुद्ध सामाजिक जागरणका लागि महोत्तरीको बर्दिबासमा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । विश्व पोलियो दिवसका अवसरमा हिजो बिहीबार रोटरी क्लव अफ बर्दिबास र रोट्य्राक्ट बर्दिबासको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।

बर्दिबास सेरोफेरोको नौ किलोमीटर वृतको यो प्रतियोगितामा सिन्धुलीको दुधौली-१२ का वोधराज भट्टराई प्रथम हुनुभएको छ । भट्टराईले निर्धारित वृतको दुरी ४२ मिनटमा पार गरी प्रथम भएर नगद १० हजार एक नगद पुरस्कार र स्वणर्पदक प्राप्त गर्नुभएको छ । यसैगरी बर्दिबास-१३ का रोशन किङ्रिङ् द्वितीय र बर्दिबास-४ का अमृत बस्नेत तृतीय हुनुभएको आयोजकमध्येका रोटरी क्लव अफ बर्दिबासका मिनी म्याराथन प्रतियोगिताका संयोजक सुमित्रा भट्टराईले जानकारी दिनुभयो ।

द्वितीय र तृतीय हुने किङ्रिङ् र बस्नेतले निर्धारित वृतको दुरी क्रमशः ४२ मिनट ३० सेकेण्ड र ४४ मिनटमा पार गर्नुभएको थियो । उहाँहरुलाई क्रमशः सात हजार एक नगद एबं कास्य पदक र पाँच हजार एक नगदसहित रजत पदक प्रदान गरिएको छ । प्रतियोगितामा १८ वर्ष उमेर पूरा गरेका ९५ जना सहभागी थिए ।

विश्व पोलियो दिवस २४ अक्टुवरको अवसरमा आयोजित प्रतियोगिताले पोलियोविरुद्ध सामाजिक जागरण बढाउन सकारात्मक चासो बढाएको आयोजकको मुल्याङ्कन छ । दिवसका अवसरमा प्रतियोगिताका सहभागीले पोलियोविरुद्ध सचेतनाका नारा लेखिएका एकै प्रकृतिका भेस्ट र टोपी लगाएका थिए ।

प्राणघातक र कष्टदायक पोलियो रोगविरुद्ध सामाजिक जागरण अभिवृद्धिका उद्देश्यले आयोजित प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई एक/ एक जना साथीसहित बर्दिबासस्थित होटल गौतम, विनायक र गुञ्जले रात्रीभोजको अवसर दिएका छन् । कार्यक्रममा सर्वसाधारणले देखाएका उत्साहपूणर् सहभागिताले यस्ता कार्यक्रमको आयोजनाका लागि हौसला थपेको रोटरी क्लव अफ बर्दिबासका अध्यक्ष विष्णु पुरीले बताउनुभयो ।

दृश्य: BG Media

 

२०८१ कार्तिक ९, शुक्रबार १६:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय