काठमाडौं : वनप्लस १३ आउँदो बिहीवार सार्वजनिक हुँदैछ । यस फोनमा क्वालकमको नयाँ स्न्यापड्रागन ८ एलिट चिप र बीओईले निर्माण गरेको अत्याधुनिक डिस्प्ले रहने बताइएको छ । अघिल्लो संस्करण वनप्लस १२ जस्तै डिजाइन हुने बताइएको फोनमा क्यामेरा अपग्रेड गरिएको छ ।

चिनियाँ सामाजिक सञ्जाल विबोमा वनप्लसले गरेको पोस्ट अनुसार यसमा सोनी एलवाईटी ८०८ (Sony LYT-808) सेन्सर भएको ५० मेगापिक्सल मुख्य क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो र अल्ट्रावाइड क्यामेरा समावेश हुनेछ ।

यसमा टेलिफोटो क्यामेराले परम्परागत पेरिस्कोप डिजाइनलाई हटाएर दुई प्रिज्म समाधान अपनाएको छ, जसले फोनलाई झनै पातलो बनाउनेछ । यसको क्यामेरा सेटअप फेरि एकपटक ह्यासलब्लाडसँगको सहकार्यमा विकसित गरिएको हो ।

थ्री एक्स टेलिफोटो समाधानको सेन्सर अघिल्लो संस्करणभन्दा ३३ प्रतिशत सानो अर्थात् १/१.९५ इन्चको आकारमा हुनेछ । विबोमा वनप्लसले यस फोनले खिचेका फोटोहरू सार्वजनिक गरेको छ, जसले यसको क्यामेरा क्षमतालाई प्रस्ट पार्छ । यसमा २४ जीबी र्‍यामसम्मको र १ टीबी स्टोरेज पनि उपलब्ध हुने बताइएको छ ।

यो फोन एन्ड्रोइड १५ मा आधारित कलरओएस १५ मा चल्नेछ भने ‘ओब्सिडियन सिकरेट’, ‘ह्वाइट डन’ र ‘ब्लु आवर’ गरी तीन रंगका विकल्पमा उपलब्ध हुनेछ ।

वनप्लसले यसमा रेन टच २.० जस्ता विशेषता समावेश गरेको छ, जसले पानी पर्दा पनि डिस्प्लेलाई सजिलै चलाउन सकिने बनाउँछ । साथै चिसो मौसममा पञ्जा लगाएर पनि प्रयोग गर्न सकिने अनुमान गरिएको छ । गेमिङको लागि टच अप्टिमाइजेसन सुविधा समेत रहेको छ ।

२०८१ कार्तिक ११, आईतवार १०:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय