
भंगहा (महाेत्तरी), १७ कात्तिक ।
महाेत्तरीकाे भङ्गाहा-४ रामनगरस्थित एक चिया पसलमा हतियारधारीहरुकाे आक्रमणले एकजना घाइते भएका छन् । आज शनिबार बिहान पसल खाेलेर सरसफाइकाे काम गरीरहेका चियापसले ४५ वर्षीय रामबाबु महताेमाथि हतियारधारीले एक्कासी साङ्घातिक आक्रमण गरी घाइते बनाएका हुन् । घटनाकाे जिल्ला प्रहरी कार्यालय महाेत्तरीले पुष्टि गरेकाे छ ।
पर्वका बेला सखारै पसल खाेलेका महताेमाथि तीन जनाकाे समूहमा पुगेका हतियारधारीले एक्कासी तरबार चलाइ घाइते बनाएका जिप्रका महाेत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबारले जानकारी दिनुभयाे ।
हतियारधारीले भकाभक हिर्काउने र तरबार चलाउन थालेपछि छरछिमेकले थाहा पाएर हल्लीखल्ली गरेपछि गाेली फायर गर्दै आक्रमणकारी भागेका घटना देख्नेहरुकाे भनाइ छ ।
सदरमुकाम जलेश्वरबाट करिब ४० किलाेमीटर उत्तरकाे घटनास्थलमा केहीबेर पछि सीतापुर प्रहरी चाैकीबाट परिचालित प्रहरीटाेली पुगेकाे थियाे । लगत्तै जिप्रका महाेत्तरीबाट आफूसहित घटनास्थल पुगी स्थलगत अवलाेकन गर्नसँगै घटनाबारे जानकारी लिएकाे प्रहरी नायब उपरीक्षक जयसबारकाे भनाइ छ ।
आक्रमण गर्ने हतियारधारी समूहकाे पहिचान भइसकेकाे प्रहरीले जनाएकाे छ । यद्यपि नाम भने प्रहरीले सार्वजनिक गरेकाे छैन ।
घटनास्थलबाट प्रहरीले हतियारधारी चढेर आएका माेटरसाइकल र तरबारकाे दाप बरामद गरेकाे छ । स्थानीयले गाेली फाइरिङ्ग गर्दै आक्रमणकारी भागेका बताए पनि प्रहरीले साेबारे तथ्य बुझ्न बाँकी रहेकाे जनाएकाे छ । घटनाका आक्रमणकारीको खाेजी थालिएकाे प्रनाउ जयसबारले बताउनुभयाे ।
आक्रमणबाट घाइते महताेकाे हातका औला काटिएका र जीउमा धेरै ठाउँ चाेट देखिएकाे छ । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेका महताेकाे जीवन अब खतरामुक्त रहेकाे जनाइएकाे छ ।