गोविन्द महतो / जनकपुरधाम
धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठ अन्तर्गत आज अस्ताउदो सूर्यलाई अर्घ दिईने भएको छ । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिवहरुप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने छठ अन्तर्गत आज ‘सझुका अर्घ’ दिइने भएको छ । पछिल्लो समयमा छठ तराई मधेश मात्र नभई देशकै महत्वपुर्ण पर्वको रुपमा परिचित हुँदै राजधानी काठमाण्डौंमा समेत भव्यतापूर्वक मनाईदैछ ।
चैत शुक्ल चतुर्थी देखि सप्तमी सम्म चार दिन सम्म मनाईने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ । खासगरी महिलाहरुले मनाउने यस छठ पर्वमा छठ पर्व प्रारम्भ भएसंगै चोखो चनाखो भएर सम्पुर्ण विधिहरु गर्नुपर्ने मान्यता रही आएको जनकपुर उप–महानगरपालिका १४ बस्ने सुनिता सिंह महतो बताउँछिन् ।
छठ पर्वको दोश्रो दिन ‘खरना’ विधिको तयारी गरिन्छ । समाजिक सद्भाव एवं उल्लसाको पर्व छठको दोश्रो दिन ब्रतालुहरुले रातिमा मिठा (सख्खर) मा बनाईएको खीर खाएको विधिलाई ‘खरना’ भन्ने गरिन्छ । भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ति, ढकनी, चढाउने परम्परा छ ।
पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ । विहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ । यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।
तराई मधेशको जिल्लाहरुमा छठ पर्व कार्तिक तथा चैत महिनामा मनाउने परम्परा रहेको छ । दुवै छठपर्वको हिन्दु धर्ममा विशेष महत्व रहेको साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन् । तथापि चैते छठ भन्दा कार्तिक छठ मनाउनेको संख्या अत्यधिक मात्रामा हुने गंगासागर पोखरी अभियान एवं सांसद रामअशिष यादवको भनाई छ ।