भूमिका उपाध्याय

बर्दिबास, १४ फागुन ।

पत्रकारिता क्षेत्रको प्रबद्र्धनमा आफू प्रतिबद्ध भएको बर्दिबासका नगरप्रमुख प्रहलादकुमार क्षत्रीले बताउनु भएको छ । आज बुधबार महोत्तरीको बर्दिबासमा नेपाल प्रेस इन्स्टिच्युटको सहकार्यमा बर्दिबास नगर पत्रकार सञ्जाल (महोत्तरी)ले आयोजना गरेको डिजिटल पत्रकारिता एबं मल्टीमिडियासम्बन्धी पाँच दिने अभिमुखिकरण तालिमको उद्घाटन गर्दै क्षत्रीले पत्रकारिताको संस्थागत विकासका लागि भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

“नगर नेतृत्व तपाईँहरुसँगै छ, तपाईँहरु सीप, दक्षता बढाउन आवश्यक कार्यक्रम संयोजन गर्नुहोस्‌” नगरप्रमुख क्षत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै भन्नुभयो, “यसप्रकृतिका योजना अघि बढ्छन् ।” सो अवसरमा उहाँले नगरमा भइरहेका कामको अनुगमन गरीदिन र भएका कमीकमजोरी औंल्याइ दिनपनि पत्रकारहरुसँग अपिल गर्नुभयो ।

आफूसहितका नगरपालिकाका जनप्रतिनिधिले एक हजार दिन पूरा गरेका प्रसङ्ग झिक्दै क्षत्रीले यस अवधिमा भएका काम , उपलब्धी र कमीकमजोरीबारे पत्रकारसँग छिट्टै अन्तर्कृया गर्ने बताउनुभयो । “हामी चाँडै सँगै बसेर एक हजार दिनबारे खुला विमर्श गर्नेछौ” उहाँले भन्नुभयो । छलफलको निष्कर्षमा कमीकमजोरी देखिए त्यसलाई आत्मसाथ गरी तत्काल सच्चिने प्रतिबद्धता उहाँको छ ।

पाँच दिने तालिमको उद्घाटन समारोहमा वरिष्ठ पत्रकार एबं प्रेस स्वतन्त्रता सेनानि ईश्वरी काफ्‌ले , नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजकरण महतो र सञ्जालका तर्फबाट तालिम संयोजक अजयकुमार साहले पत्रकारिता पेसालाई मर्यादित र विश्वसनीय बनाउन पर्ने बताउनुभयो । यसका लागि समाचारका विषयको छनौट, सम्बन्धपक्षबीचको सम्वाद, तथ्यको गहिर्‍याइमा पुग्ने प्रयत्न र यसका लागि प्रत्येक पत्रकारले अध्ययन गर्ने बानी बसाल्न पर्ने उहाँहरुको सल्लाह छ ।

यो तालिममा डिजिटल पत्रकारिता र मल्टिमिडियाबारे नेपाल प्रेस इन्स्टिच्युटका विज्ञले सहजीकरण गर्नुहुनेछ । बर्दिबास नगर कार्यपालिकाको कार्यालयको सहयोगमा सुरु गरिएको तालिम आउने आइतबार समापन गरिने तालिका रहेको सञ्जालका सचिब विशाल बस्नेतले जानकारी दिनुभयो ।

सञ्जालका कोषाध्यक्ष सुनिता बरालले प्रमुख अतिथि, अतिथि र सहभागीलाई स्वागत गर्नुभएको उद्घाटनसत्र सञ्जालका अध्यक्ष गोपालप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको हो । तालिममा बर्दिबास नगरक्षेत्रका २५ जना सञ्चारकर्मीको सहभागिता छ ।

२०८१ फाल्गुन १४, बुधबार २१:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय