गोविन्द महतो
जनकपुरधाम, बैशाख ।

विपद्ले विनाश गर्छ, विनाशले जीवनचक्र आतंकित बनाउँछ, आतंकले जनधनको क्षति र तनाव बढाउँछ । मानव जीवनमा अप्ठ्यारो, आपत्कालिन, भयभित अवस्था सिर्जना भई धनजनको क्षति हुनु विपद्को समय हो । मानव संकटले जीवन सञ्चालनमा अवरोध गर्ने हुँदा विपद् जोखिममा हासियारी अपनाउनुपर्छ । यस्तो संकट आकस्मिक र अप्रत्याशित रुपमा आउने हुँदा विपद्व विरुद्ध सधैँ होसियारी सहित शासकीय तयारी हुनुपर्छ । यही तयारीका साथ तराई मधेशको जिल्लाहरुमा आउने बाढी, आधी तुफान, चटयाङ्ग, स्वास्थ्य प्रकोप, आगलागि, डढेलो तथा अन्य विपदाको समयमा विपद् व्यवस्थापन अभ्यास सहितका तालिम सशस्त्र प्रहरीले सम्पन्न गरेको छ ।


प्राकृतिक विपत्ति मानवीय कारणबाट हुने विपद् आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट हुने जोखिम जस्ता विषयमा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा विपद् व्यवस्थापन सम्बन्धी तालिम समापन भएको हो । तालिम समापन समारोहमा सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले दुर्घटना र भूकम्पको प्रकोप जतिबेला पनि हुन सक्ने तर वर्षा सुरु हुनुअघि हावा हुरी, आगलागी र चट्याङ र स्वास्थ्यको प्रकोप जोखिम हुने समयका लागि विपद् व्यवस्थापनको तालिम दिईएको बताए ।


वर्षाको समय प्रायः अषाढ देखि भदौ सम्म एक सय बीस दिन खतरा वा जोखिम हुने तथा हाम्रो भूवनोट र प्राकृतिक कारण हावाहुरी, आगलागी, चट्याङ, स्वास्थ्यको प्रकोप र वर्षा हाम्रा लागि निकै चुनौती र कष्टकर हुने मौसमका लागि विपद् व्यवस्थापन तालिम डेमो प्रदर्शन सहित समापन गरिएको डिआईजी कृष्ण ढकालले जानकारी दिए । सप्तरीको बरमझिया स्थित शिक्षालयमा एक हप्ता अवधिको तालिममा सशस्त्र प्रहरी जवान देखि सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जा सम्मका ४९ जना सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी भएका थिए ।


प्रशिक्षार्थीहरुलाई सडक तथा हवाई दुर्घटना, फायर फाईटिङ्ग, रोप रेक्यू, शव व्यवस्थापन, जल उत्पन्न प्रकोप उद्दार, डढेलो नियन्त्रण बन्दोवस्ती व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण गराईएको थियो । समापन कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा विपद् व्यवस्थापन तालिमको टयाग वाहिनीपति ढकालले प्रदान गरेका थिए । तालिम समापन समारोहमा उनले भने, ‘विपद् उद्दार कार्य मानवीय संवेदनशिलता एवं विशुद्ध सेवा भावबाट गरीने पवित्र कार्य भएकाले तालिममा सिकेका ज्ञान र सीपलाई कार्यक्षेत्रमा समर्पित भएर जिम्मेवारीपुर्ण ढंगले लागू गर्नु हाम्रो धर्म हो ।’


सशस्त्र प्रहरी मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले नजिकिदै गरेको मनसुनजन्य जोखिम न्यूनिकरणको लागि तयारी अवस्थामा रहन निर्देशन दिदै नागरिक र स्थानीय तहको सहकार्यमा देशै भरिका सवै स्थानीय तहका प्रत्येक वडाहरुमा विपद् व्यवस्थापन स्वयं सेवक टोली तयार गर्ने सशस्त्र प्रहरी बलको योजना अनुरुप विपद् व्यवस्थापनमा स्वयंसेवकको अवधारणा कार्यान्वयनको चरणमा रहेको बताए । मधेश प्रदेशका ८ वटै जिल्ला स्थित युनिटहरुमा तदारुकताको साथ कार्यान्वयन गर्दै अघि बढाउने वाहिनीपतिहरुलाई निर्देशन दिए ।
तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले शिक्षालयमा विपद् व्यवस्थापन, वाटर रेस्क्यु, प्रतिविद्रोह, विशेषकार्य जस्ता विशेष प्रकृतिका तालिमहरु संचालन गर्दै दक्ष जनशक्ति उत्पादन गर्दै आईरहेको जानकारी गराए । सोही अवसरमा विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीले प्रयोग गर्दै आईरहेको विभिन्न आधुनिक उपकरण तथा सामाग्रीहरुको प्रदर्शन गरिएको थियो ।


अघिल्ला वर्षहरुमा भएका विपद्का घटनालाई विश्लेषण गर्दै सशस्त्र प्रहरीले देश भरका युनिटहरुमा मनसुन जन्य विपद् न्युनिकरण तथा उद्दारका लागि तयारी थालेको छ । विपद् सम्बन्धी अनुशिक्षण तथा कृतिम अभ्यासहरुको संचालन गरि जोखिम न्युनिकरणमा तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नेपालमा हावा हुरी, चट्याङ, बाढी पहिरो, भूकम्प, आगलागी, दुर्घटना र स्वास्थ्यको प्रकोपको जोखिम रहेको छ ।


२०८२ जेष्ठ २, शुक्रबार १९:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय