गोपाल बराल,
बर्दिबास (महोत्तरी) , १६ जेठ ।

बढ्दो सवारी साधन र यिनका चापले अति व्यस्त हुँदै गएको सडकमा दुर्घटना घटाउन ट्रफिक प्रहरीले सचेतनामूलक कार्यक्रम ‘सडक सुरक्षा सप्ताह’ मनाउने भएको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरी बर्दिबासले दिनदिनै दुर्घटना बढेका घटनाले भइरहेको धनजनको क्षति घटाउन सप्ताहव्यापि सचेतनामूलक कार्यक्रम ‘सडक सुरक्षा सप्ताह’ को तालिका सार्वजनिक गरेको हो ।

जिल्लाका ठाउँठाउँमा ‘सडक सुरक्षा सप्ताह’ अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने प्रकाशित तालिकामा उल्लेख छ । आउने बिहीबार (जेठ २२ गते) देखि सात दिन सञ्चालन हुने कार्यालयले जनाएको छ । साताव्यापि सचेतनामूलक कार्यक्रमको पहिलो दिन (जेठ २२ गते बिहीबार) जिल्लाका जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, नागरिक समाजका प्रतिनिधि, यातायात व्यवसायी , चालक र यातायात मजदुरसहितको सहभागितामा बिहान प्रभातफेरि कार्यक्रम आयोजना गरिने जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताउनुभयो । पहिलो दिनको कार्यक्रम बर्दिबासमा सम्पन्न हुनेछ ।

“प्रभातफेरिमा ट्रफिक सचेनामूलक नाराका प्लेकार्डसहित नगर परिक्रमा गरिने छ” जोशीले भन्नुभयो, “यसले सडक सुरक्षाबारे चासो बढाउने र यसको सम्वेदनशीलतालाई बझ्‌ने सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । यसैगरी यो साताव्यापि अभियानमा सवारी धनी, सवारी चालक, यातायात मजदुर, विद्यार्थी र स्वयंसेवक संस्थाका प्रतिनिधिबीच अन्तर्कृयाका कार्यक्रम सम्पन्न गरिने कार्यालयले जनाएको छ ।

यो साताव्यापि सचेतना अभियानमा दोस्रो दिन (जेठ २३ गते शुक्रबार) जिल्ला सदरमुकाम जलेश्वरमा सवारी दुर्घटना उद्धार अभ्यासका कृयाकलाप गराइनेछन् । यो कार्यक्रममा रेडक्रसका स्वयंसेवक, यातायात कार्यालय, यातायात व्यवसायी र सामाजिक सङ्घसंस्थामा आबद्ध युवा सरिक हुनेछन् । यसैगरी तेस्रो दिन (जेठ २४ गते शनिबार ) सवारी साधनको आन्तरिक परीक्षण , चौथो दिन (जेठ २५ गते आइतबार) बर्दिबासमा रक्तदान, पाचौं दिन (जेठ २६ गते सोमबार) सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य परीक्षण र छैठौं दिन (जेठ २७ गते मङ्गलबार ) मोटरसाइकल चालकलाई लक्षित गरी हेल्मेट प्रयोगसम्बन्धी प्रशिक्षण कार्यक्रम राखिएको छ । छैठौं दिनको यो प्रशिक्षण गौशालामा सम्पन्न गरिने प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

यस्तै छैठौं दिन नै जिल्लाको भारतीय सीमावर्ती सम्सी नाका नजिकको हुलाकी सडकको सम्सीचोकमा ट्राफिक सचेतनासम्बन्धी सडक नाटक प्रदर्शन गरिनेछ । सप्ताहको अन्तिम अर्थात सातौं दिन (जेठ २८ गते बुधबार) सञ्चारकर्मी तथा यातायात व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेर सचेतनामूलक ‘सडक सुरक्षा सप्ताह’को समापन गरिने जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सडक सुरक्षा चासो सबैको हुँदा यो अभियानमा सकृय सहभागिताका लागि कार्यालयले सम्बद्ध सबैपक्षसँग अपिल गरेको छ ।


२०८२ जेष्ठ १६, शुक्रबार १७:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय