
जनकपुरधाम : हुलाकी राजमार्ग अन्तर्गत धनुषा जिल्लाको कमला नगरपालिका–४, बरेर्बामा अवस्थित ऐतिहासिक रामजानकी मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको छ।
विगत छ वर्षदेखि जीर्ण अवस्थामा रहेको मन्दिर अन्ततः स्थानीयको लामो संघर्ष, विदेशमा रहेका प्रवासीहरूको पहल र मधेश सरकारको सहयोगबाट पुनःनिर्माणको चरणमा प्रवेश गरेको छ।
यो मन्दिर धार्मिक मात्र होइन, सांस्कृतिक र ऐतिहासिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ। तर वर्षौँसम्म राजनीतिक बेवास्ता र बजेट अभावका कारण यस मन्दिरको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको थियो। स्थानीय युवाहरूले पटक–पटक विभिन्न राजनीतिक दलका नेताहरूलाई ध्यानाकर्षण गराउने प्रयास गरे तापनि कुनै ठोस पहल भएको थिएन।
तर, गत वर्ष जनमत पार्टीका नेता सतिशकुमार सिंह मधेश प्रदेशका मुख्यमन्त्री पदमा नियुक्त भएपछि परिस्थितिमा परिवर्तन आयो। स्थानीय बासिन्दा मनोज कुमार मोरबैताको पहलमा मुख्यमन्त्री सिंहले रामजानकी मन्दिर पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै आफ्नै योजना अन्तर्गत २५ लाख रुपैयाँको बजेट सुनिश्चित गरे।
योजना सार्वजनिक भएपछि मन्दिर निर्माणको काम गत जेठ महिनाबाट नै सुरु गरिएको थियो। यद्यपि, प्रक्रिया अघि बढ्दा केही स्थानीय नेताहरूले गैरकानुनी रूपमा हस्तक्षेप गर्दै योजना आफ्नो पक्षमा लैजान खोजेका थिए। फर्जी उपभोक्ता समिति गठन गरी बजेट र निर्माण कार्य आफ्नो नाममा प्रचार गर्ने प्रयास गरिए पनि पुर्वाधार विकास कार्यालय धनुषाका प्रमुखले ती प्रयासलाई मान्यता नदिई कानुनी मार्ग समाते।
समन्वयका क्रममा मोरबैताले माननीय मन्त्री सरोजकुमार यादवलाई सम्पर्क गरी सहयोग मागेपछि सचिन यादवमार्फत पुनः चिठ्ठी जारी भयो र योजना प्रदेश सांसद लखन दासको सचिवालयमार्फत अघि बढ्न थाल्यो। यसपछि आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी मन्दिरको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो।
“काम जसको नाममा भए पनि, गुणस्तरीय हुनु अनिवार्य छ। हाम्रो संस्कृति र पहिचानसँग जोडिएको यो मन्दिर अब हाम्रो एकता र संघर्षको प्रतीक बन्नेछ,” स्थानीय अभियन्ता मोरबैताले भने।
पुनर्निर्माणको वर्तमान चरणमा युवा समूह, वडा कार्यालय, र विभिन्न निकायबीच समन्वय कायम छ। निर्माण सम्पन्न भएपछि यस मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना पनि अगाडि सारिएको छ।
मोरबैताले पुनर्निर्माण कार्यमा साथ दिने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादव, सांसद लखन दास,मुख्यमन्त्रीको स्वकीय सचिव रोबिन सिंह,भौतिक मन्त्रीको सहयोगी सचिन यादव, कमला नगरपालिका-४ का वडाध्यक्ष दिपक गोहिबार लगायतलाई विशेष धन्यवाद व्यक्त गरेका छन्।
यो मन्दिरको पुनर्निर्माणले कमला नगरपालिका-४ बरेर्बा गाउँलाई धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा नयाँ उचाइमा पुर्याउने स्थानीयको विश्वास छ।