
रोशन महतो,
बर्दिबास । महोत्तरीको बर्दिवासमा बाल दिवसको अवसरमा अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजन हुने भएको छ ।
जुनियर स्टार कमिटी, बर्दिबासले बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यले बाल दिवस मनाउन लागेको हो । ‘बालबालिकालाई प्रयोग होइन, अवसर चाहिन्छ’ भन्ने मूल नाराका साथ अनलाइन वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा १० देखि १८ वर्षका बालबालिका सहभागि हुने कमिटीकी उपाध्यक्ष सेनिषा सेन्चुरीले बताईन् । यसका लागि सहभागीले आफ्नो पहिचान खुल्ने जन्मदर्ता वा अन्य कुनै परिचयपत्र पेश गर्नुपर्नेछ । सहभागीले अधिकतम ४ मिनेटको मौलिक र सभ्य भाषणको भिडियो बनाउनु पर्ने, भिडियो स्पष्ट हुनुपर्ने, सम्पादन नगरिएको हुनुपर्ने, र भिडियो भदौ २८ गतेभित्र कमिटीको आधिकारिक इमेलमा पठाउनुपर्नेछ ।
विजेताको छनोट निर्णायक मण्डलको ५०५ अंक र प्राप्त हुने लाइक, कमेन्ट र सेयरको ५०५ अंकको आधारमा गरिनेछ । यसले बालबालिकामाझ सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिस्पर्धाको भावना बढाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको नतिजा भदौ ३१ गते सार्वजनिक गरिनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, सबै सहभागीलाई सहभागिताको प्रमाणपत्र दिइने कमिटीले जनाएको छ ।
सहभागीले आफ्नो भिडियो भदौ २० गतेदेखि पठाउन सुरु गरिसकेका छन्। भिडियो पठाउने अन्तिम मिति भदौ २८ गतेसम्म तोकिएको छ भने भिडियोमा लाइक, कमेन्ट, र सेयर गर्ने अन्तिम समय भदौ ३० गते राति १२ बजेसम्म रहनेछ ।
यो प्रतियोगिताले बालबालिकालाई आफ्ना विचार र भावना अभिव्यक्त गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गर्ने र उनीहरूमा सामाजिक चेतनाको विकास गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।