
नेपालावणी नेटवर्क
जनकपुरधाम, भदौ ।
जनमत पार्टीका केन्द्रीय सचिव विशेश्वरप्रसाद साह उर्फ बीपी साह माथि जर्वरजस्ती करणीको मुद्दा दायर भएको छ । धनुषाको सबैला नगरपालिका १२ घर भई जनमत पार्टीको केन्द्रिय सचिव रहेका बीपी साह माथि जिल्ला प्रहरी कार्यालय धनुषामा जर्वजस्ती करणीमा मुद्दा दायर भई प्रहरीले खोजी सुचिमा राखेपछि घटना बाहिर आएको हो ।
२०८१ चैत्र ३१ गते एक महिलाले आफूलाई साहले जर्बजस्ती करणी गरेको आरोपसहितको जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिएकी छन् ।जनकपुरधाम उप–महानगरपालिकाकी एक २८ वर्षीया महिलाले घरमा कोही नभएको मौका छोपेर साहले आफूलाई जर्बजस्ती करणी गरेको प्रहरीको जाहेरीमा उल्लेख छ । साहमाथि प्रहरीले मुद्दा दर्ता गरेपछि उनी अहिले प्रहरीको फरार सूचमी छन् ।
साह भने निरन्तर सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । आरोपित साह विगत एक हप्तादेखि जेन–जी प्रदर्शनमा सहभागि भएका तस्बिर सामाजिक सञ्जालमा राखिरहेका छन् । यसैगरी उनले सिधा कुरा अनलाईनमा समेत अडियो अन्तर्वार्ता समेत दिएको भेटिएको छ ।
साविक रघुनाथपुर गाविस हाल सबैला नगरपालिका १२ का साह फरार रहेकोले उनको तीन पुस्ते विवरण खुलाइ पठाइदिन जिल्ला प्रहरी कार्यालय धनुषाले सबैला नगरपालिका१२ को वडा कार्यालयमा २०८२ भदौ ५ मा पत्र पठाइएको छ । दुई दिनभित्र विवरण खुलाई पठाइदिन पत्रमा उल्लेख गरिएको छ ।
जनमतबाट निलम्बित
चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह भनिने विश्वेश्वर प्रसाद साह निलम्बनमा परेका छन् । उनमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा जबरजस्ती करणीको मुद्दा दायर भएपछि अनुशासन समितिले उनलाई सचिव पदबाट निलम्बन गरेको हो ।
केन्द्रीय अनुशासन समितिका संयोजक नगेन्द्र प्रसाद चौधरीले एक विज्ञप्ति जारी गर्दै उनलाई उक्त अभियोगको अनुसन्धान अवधिसम्म पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ । साथै उनमाथि लागेको अभियोगबारे समितिले ७ दिने स्पष्टीकरण पनि सोधेको छ । साहमाथि प्रहरीमा दायर भएको अभियोगको छिनोफानो भएर निर्दोष सावित नभएसम्म उनलाई पार्टीको साधारण सदस्य नरहने गरी निलम्बन गरिएको समितिका संयोजक चौधरीले बताए ।
साहमाथि लागेको अभियोगबारे आफ्नो फेसबुकमार्फत चुनाव र महाधिवेशनको समयमा जबरजस्ती करणीको जाहेरीमार्फत मिडिया तताउन लागेको प्रतिक्रिया दिएका छन् । साविक रघुनाथपुर गाविस हाल सबैला नगरपालिका १२ का साह फरार रहेका कारण उनको तीन पुस्ते विवरण खुलाइ पठाउन जिल्ला प्रहरी कार्यालय धनुषाले सबैला नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयमा २०८२ भदौ ५ मा पत्र पठाएको छ ।
साह पार्टीमा पनि विवादित छविका मानिन्छन् । साहलाई यसअघि पार्टीले तीन महिनाका लागि अनुशासनको कारबाही गरेको थियो । साहले २०७९ को प्रतिनिधिसभा चुनावताका हरहिसाबको विषयलाई लिएर धनुषा क्षेत्र नं. १ का उम्मेदवार किशोरी साह कमलसँग पार्टी बैठकमै कुटाकुट गरेको थियो ।