बर्दिबास (महाेत्तरी), २५ कात्तिक ।

मधेशमा बगैंचा भन्नासाथ मुख्यत आँप र लिची सम्झनामा आउँछन् । तर बर्दिबास–११ खयरमारामा भने एक हजार बोट बढीको अम्बा बगैंचा लागेको छ । सो बस्तीका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बाको बगैंचा लगाउनु भएको हो । यो बगैंचा आफ्‌नो बुढेसकालको सहारा बन्ने गौतमले विश्वास साँच्नु भएको छ ।

“अहिले त जस्तासुकै काम फत्ते गरौंला भन्ने आँट छ, यो बगैंचा भने बुढेसकाल बिताउने सहारा बन्ला भन्ने छ” उमेरले ५० कट्नु भएका गौतम भन्नुहुन्छ, “समयले लतारेन भने लौरौ टेक्दै पनि यहाँसम्म त आइन्छ नि ।” गौतमले घर अगाडिको एक बिघा जग्गामा लगाइएको अम्बा बगैंचा देखाउँदै यो बुढेसकालको काम र सहारा अहिलेदेखि नै साँच्न लागेको बताउनुभयो । गौतमले अम्बाबाहेक अर्को एक बिघामा उन्नत जातकै कागती पनि लगाउनु भएको छ ।

“अहिले एक बिघामा अम्बाका एक हजार र अर्को एक बिघामा कागतीका ५०० बोट सरेका छन्‌” बगैंचातिर देखाउँदै गौतमले भन्नुभयो, “हाम्रो बुढेसकाल बिताउने सहारा यिनै बोट हुनेछन् ।” अहिले कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगेपनि बुढ्याइँ भने पैत्रिक ठाउँमै बिताउने धोकोले अम्बा र कागतीको बगैंचा लगाइएको उहाँको भनाइ छ । मधेशको माटोमा अम्बा र कागती दुबै फल लागेपनि यति धेरै मात्रामा भने खेती गरिएको देखिदैनथ्यो ।

गौतमले गत वर्षको मङ्सिरदेखि अम्बा रोपन थाल्नु भएको हो । अहिले थाइग्रिन र ताइवानपिङ्क जातका गरी एक हजार अम्बाका बिरुवा रोपिएका उहाँको भनाइ छ । “पोहोर मङ्सिरमा रोपिएका थाइग्रिन अम्बा यसपालि फलेका छन् , ताइवानपिङ्कचाहिँ यसपालि गत भदौमा रोपिएको हो ।” मधेशमा यति धेरै परिमाणमा अम्बा लगाउने आफू पहिलो किसान हुनसक्ने उहाँ बताउनुहुन्छ । अम्बा अझै ५०० बोट थप्ने उहाँको योजना छ । अम्बा एक बिघामा एक हजार बोट अटेपनि कागती भने ५०० बोटमात्र लगाउन पर्ने बागवानी प्राविधिकहरुको सल्लाहअनुसार यस्तो गरिएको उहाँले जानकारी दिनुभयो । कागती कुमकार्ड भनिने पाकिस्तानी जातको रोपिएको गौतमले बताउनुभयो ।

जम्मा दुई बिघा क्षेत्रफलमा अम्बा र कागती रोपनमा पहिलो जोतखनबाहेक करिब १० लाख खर्च भएको गौतमको भनाइ छ । “बिरुवा कोलकाताबाट मगाइएका हुन् , बारीमा आइपुग्दा प्रतिबोट १५० रुपैयाँ पर्‍यो, खाल्डो खन्न र माटोको उपचार एबं मलसमेत प्रत्येक बोटमा ५०० रुपैयाँ लागेको छ” लागत खुलाउँदै उहाँले भन्नुभयो, “यसबाहेक सुरुको जोतखन खर्च अलग लागेको छ ।”

यी बोटले तीन वर्षका भएपछि सघन उत्पादन दिन थाल्नेछन् । अम्बाले बर्सेनि प्रतिबोट ४० किलोग्राम र कागती २० किलोग्राम उत्पादन हुने बागवानीविज्ञले बताएका उहाँले बताउनुभयो । अम्बा र कागतीले ३० वर्षसम्म उत्पादन दिने वागवानीविज्ञले सुझाएका गौतमको भनाइ छ । गौतमले लगाउनु भएको अम्बा र कागतीका जात यहाँको माटो र हावापानीमा राम्ररी फस्टाउने कृषि विज्ञ तथा नेपाल सरकारको कृषि क्षेत्रमा सहसचिबको सेवाबाट अवकास लिनुभएका छिमेकको बर्दिबास–५ का बासिन्दा वाणिकराज काफ्‌ले बताउनुहुन्छ । “माटो र हावापानी अम्बा र कागतीका लागि यहाँ अनुकूल नै छ, अन्य उपचार र रेखदेख भने नियमित गरिनपर्छ” काफ्‌लेले भन्नुभयो ।

यो लगाइएको अम्बा र कागतीको बगैंचामा बुढेसकाल बिताउने गौतमको सपना छ । “कति बाँचिन्छ भन्ने कुरा त जानिदैन, तर मैले बुढेसकालमा गर्न सकिने सामान्य हेरचाह यो बगैंचामा गर्न सकिएला भन्ने सोचेको छु” गौतम भन्नुहुन्छ, “उर्जावान उमेर मैले सकृय काममै बिताएको छु, त्यसले सन्तुष्टि पनि दिएको छ , अब बुढेसकाल पनि हात बाँधेर त बिताउन सकिदैन भनेर यो बगैंचा लगाइएको हो ।” छोराछोरी लेखपढ गरेर दशदिशा लागेपछि आफ्‌नो बुढ्याइँ पैत्रिक ठाउँ नै हुने ठानेर यो काम घर फर्कने योजनासमेत रहेको उहाँले खुलाउनुभयो ।

“मैले कहिल्यै बसेर समय गवाइन, कामका लागि मुलुकभरि पुग्न छाडिन, त्यसले मलाई सन्तुष्टि पनि दिएको छ” गौतम भन्नुहुन्छ, “अब भने आफ्‌नै गाउँ फर्कने सुर गरियो, यो बगैचा त्यही बुढेसकालका लागि हो ।” बगैंचाको हेरचाह र उत्पादनको बिक्री व्यवस्थापन घरै बसेर गर्न सकिने विश्वासमा यो काममा हात हालिएको उहाँको भनाइ छ ।

मधेशमा बागवानीखेतीमा आँप, लिची बाक्लै लगाइने भएपनि व्यावसायिक रुपमै यतिधेरै परिमाणमा अम्बा र कागती लगाइएको भने पाइदैन । आफूले यही नयाँ काम गर्न लागेको गौतम बताउनुहुन्छ । उहाँको कामप्रतिको लगाव र समर्पण नजिकबाट बुझ्‌नु भएका नातामा उहाँकै काका ७५ वर्षीय चन्द्रलाल गौतम भन्नुहुन्छ, “निलहरि प्रत्येक काम गहिरिएर योजनाबद्ध गर्ने बानीका छन् , यिनले हात हालेको काम बिस्तुर गएको देखिन्न ।” अहिले खयरमारामा निलहरिको यो बगैंचा हेर्न वरिपरीका मान्छे बाक्लै पुग्ने गरेका छन् ।


२०८२ कार्तिक २५, मंगलवार १७:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय