महोत्तरी , २ चैत ।

बर्दिबास–८ फार्लायनटोलकी मञ्जु ध्व्राचाङ्गी अचेल बिहान उज्यालो भएदेखि अबेर साँझसम्म बाख्राकै हेरचाहमा बिताउनुहुन्छ । खोरभरि रहेका बाख्राको हेरचाहमा अहिले ध्व्राचाङ्गी एक्ली हुनुहुन्न । उहाँसँगै २५ परिवार बाख्राको हेरचाहकै ध्याउन्नमा हुन्छन् ।

आफ्‌नै बस्तीका २५ परिवार मिलेर जनजागरण कृषक समूह गठन गरेर सामुहिक बाख्रापालन थालेका यहाँका किसानलाई नेपाल सरकारको बर्दिबासस्थित आर्थिक करिडोर कार्यालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको साथ छ । बस्तीका २५ घरपरिवारका सदस्य आबद्ध समूहमा १५ जना त महिला नै छन् । आयोजनाले उद्यम गरेर आर्जन बढाउने सङ्कल्प गरेका समूहलाई प्रस्तावमा ५० प्रतिशत अनुदान दिने भएपछि यहाँका महिला सामूहिक बाख्रापालनमा हौसिएका हुन् ।

“हाम्रो खोरमा अहिले विभिन्न जातका १०० बाख्रा छन् , हामी यो सङ्ख्या अझै केही बढाउने तयारीमा छौं” समूहकी सदस्य जानुका राना मगर भन्नुहुन्छ, “कामै नगरी गरिब भइयो भन्नु त भएन नि ! त्यसैले उद्यममा लागेका हौं ।” आफूहरुले बाख्रापालनमै भविष्य देख्न, खोज्न लागेको उहाँको भनाइ छ ।

खोरमा अहिले बोयर, सिरोही र अजमेरीसहितका उन्नत र खरी भनिने स्थानीय जातका बाख्रा रहेका समूहका अध्यक्ष छठीलाल साह बताउनुहुन्छ । स्थानीय जातका बाख्राचाहिँ उन्नत नश्ल सुधारका लागि पालिएको साहको भनाइ छ । “मुख्यतः उन्नत जातकै बाख्रा पालन गर्ने हो, तर हाम्रा स्थानीय जातका बाख्रामा पनि नश्ल सुधार गर्न सकिन्छ भन्ने दृष्टान्तका लागि खरी जातका बाख्रा केही राखेका छौं” साह भन्नुहुन्छ, “यो हाम्रो प्रयत्न आफ्‌नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सन्देशका लागि पनि हो ।”

उन्नत जातका बाख्रामध्ये बोयर मासु उत्पादन निकै बढाउने उद्देश्यले पालिएको समूहका सदस्यको कथन छ । “बोयरका पाठापाठी खँदिला र चाँडै तौल बढ्ने हुन्छन् , त्यसैले यिनको सङ्ख्या बढी छ” समूहका अर्का सदस्य गुञ्जबहादुर नुङ्गेली मगर भन्नुहुन्छ, “यसैगरी सिरोही र अजमेरी बच्चा बढाउने उद्देश्यले पालिएका हुन् ।” सिरोही र अजमेरी जातका बाख्राले एकपटकमा सालाखाला दुई/तीनवटा बच्चा बेतैपिच्छे जन्माउने नुङ्गेलीले बताउनुभयो । अहिले १०० को सङ्ख्याबाट सुरु गरिएको यो उद्यमबाट एक वर्षभित्रै बाख्राको सङ्ख्या कमसेकम दोब्बर हुने समूहका सदस्यको भनाइ छ । आउने एक वर्षभित्र मासु उत्पादनको ध्येयले पालिएका बाख्राबाट आम्दानी आउन थाल्ने समूहका सदस्यले आस सँगालेका छन् ।

सामूहिक रुपमा यो उद्यम थाल्न खोर निर्माणदेखि बाख्रा खरिद र प्रारम्भिक उपचार प्रबन्धसम्ममा ८० लाख खर्चको यो उद्यममा आयोजनाको ५० प्रतिशत अनुदान छ । आयोजनासँगको यो सहकार्यले गरिब बस्तीका बासिन्दा एक वर्षपछि राम्रो आर्जन गर्नसक्ने बर्दिबास–८ का वडाध्यक्ष शमशेरसिंह लामा बताउनुहुन्छ ।

आयोजनाको मधेश प्रदेश कार्यालय बर्दिबासले उद्यम गरेर आर्जन गर्ने उद्देश्य बोकेका किसानलाई सामूहिक रुपमा अनुदान दिने नीति लिएको छ । यसअनुरुप प्रदेशका आठवटै जिल्लाका पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गसँग जोडिएका ८४ स्थानीयतहलाई लक्षित गरी काम अघि बढाइएको आयोजना प्रमुख राजेश साह बताउनुहुन्छ । दूध र मासु उत्पादनका लागि मधेशका आठ जिल्लामा ११० समूहमा आबद्ध किसानले पशुपक्षी पालन गरेका छन् । यिमध्ये मासु उत्पादनका लागि पशुपक्षी पालन गर्ने २० समूहमध्ये १३ वटाले बाख्रापालन गरेका आयोजना प्रमुख राजेश साह बताउनुहुन्छ । किसानका यी समूहमा १५ देखि ५० जनासम्म आबद्ध हुने व्यवस्था रहेको आयोजनाले जनाएको छ । यस कार्यक्रममा उत्पादनदेखि बजारसम्मको पहिले नै सुनिश्चितता गरिएको साह बताउनुहुन्छ । यो कार्यक्रमले किसानको आर्थिक अवस्थामा निकै सुधार ल्याउने आयोजनाको ठहर छ ।

“हामीले सामूहिक प्रतिबद्धतामा समूहबाट आउने प्रस्तावमा कामको सुनिश्चितता गरेर अनुदानको नीति बनाएका छौ” साह भन्नुहुन्छ, “स्वीकृत प्रस्तावभित्र चरणचरणका कार्य सम्पन्न प्रतिवेदनका आधारमा अनुदान निकासा दिने नीतिले कुनै पनि समूहले काम नगरी रकम पाउने स्थिति रहन्न ।” यो नीतिले प्रत्येक स्वीकृत प्रस्ताव सफल हुने साहको दाबी छ । मधेशका आठ जिल्लामा अहिले यो नीतिबाट पाँच हजार बढी किसान लाभान्वित भइरहेका आयोजनाले जनाएको छ ।

आयोजनाले प्रदेशभरि ३५ ठाउँमा आधुनिक सुविधासहितको एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । यी ९१ करोडको लागतमा निर्मित सेवा केन्द्रमा खेतीपातीका लागि माटो परीक्षण, पशुपक्षी स्वास्थ्य जाँच र उपचारको व्यवस्था छ । यी केन्द्रमा प्राङ्गारिक खेतीका लागि प्रयोगशाला, पशुबस्तुको मलमुत्र जाँच र उपचार एबं पशुपक्षी पालनका किसानलाई नियमित प्राविधिक परामर्श सेवा दिइएको आयोजनाले स्पष्ट पारेको छ ।

आयोजनाको साथबाट सामूहिक बाख्रापालन थालेका हाथीलेटको गरिब बस्तीका किसानले अबका केही वर्षभित्रै आफूहरुका दिन फिर्ने सपना सँगालेका छन् । आयोजनाले समूहमा अनुदान दिने व्यवस्था रहेको र उत्पादनको आर्जन समूहले प्रत्येक सदस्यमा पुर्‍याउने व्यवस्था रहेको हुँदा कामप्रति सबैको साझा जिम्मेवारीवोधले नतिजा राम्रो ल्याइने यस समूहका सदस्य बताउँछन् ।


२०८२ चैत्र २, सोमबार ०८:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय