बर्दिबास, महोत्तरी । महोत्तरीको बर्दिबास-१४ मा बसोबास गर्ने कम्प्युटर व्यवसायी कौशल महतोले पत्रकार ललन मण्डललाई ज्यान मार्ने धम्की दिएको घटना सार्वजनिक भएपछि प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठेको छ।
बर्दिबास नगर पत्रकार सञ्जालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका सदस्य तथा जनमत प्रेस संघका केन्द्रीय सचिव समेत रहेका मण्डललाई सोमबार बिहान करिब १० बजेतिर एक अज्ञात नम्बरबाट फोन गरी हालै प्रकाशित सवारी दुर्घटनासम्बन्धी समाचार हटाउन दबाब दिँदै ज्यान मार्ने धम्की दिइएको हो। समाचार ‘एकतर्फी’ भएको आरोप लगाउँदै व्यवसायी महतोले प्रत्यक्ष रूपमा भौतिक कारबाहीको चेतावनी दिएको पीडित पत्रकारले बताएका छन्।
कुनै पनि समाचारप्रति असहमति भएमा खण्डन गर्ने वा कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै यसरी प्रत्यक्ष धम्की दिनु अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथिको निर्मम प्रहार हो। घटना भएको २४ घण्टा बितिसक्दा पनि स्थानीय पत्रकार सञ्जाल र सम्बन्धित पेशागत संस्थाहरूले पत्रकारको सुरक्षा र दोषीमाथिको कारबाहीबारे मौनता साध्नु झन् चिन्ताजनक देखिएको छ।
यस्तो संवेदनशील विषयमा सरोकारवाला निकायहरूको निष्क्रियताले अपराधीको मनोबल बढ्ने र पत्रकारिता क्षेत्र थप असुरक्षित हुने निश्चित छ। तसर्थ, यस घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषी महतोलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिन्छ।


