भूमिका उपाध्याय,

बर्दिबास: महोत्तरीको बर्दिबासमा  सेतो रगत बनाउन कम्पोनेन्ट मसिन जडान थालिएको छ । सेतो रगतको अभावमा जटिल प्रकृतिका बिरामीको उपचार गर्न  बाहिर जान पर्ने वाध्यता अन्त्य गर्न रेडक्रस बर्दिबास उपशाखाले आफ्‌नै रक्तसञ्चार भवनमा कम्पोनेन्ट मसिन जडानको काम आज थालेको हो ।

“हामीले कम्पोनेन्ट जडानको काम थाल्यौ, अब एक महिनाभित्रै सेतो रगतको सेवा दिन सकिन्छ” रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्का भन्नुहुन्छ, “पछिल्ला दुई वर्षयताको निरन्तर प्रयत्नबाट रोटरी क्लव इण्टरनेशनल नेपालले हामीलाई कम्पोनेन्ट मसिन उपलब्ध गराएपछि जडान थालेका हौं ।” मसिन जडान, दक्ष जनशक्ति व्यवस्थापन र यससम्बन्धी अन्य तयारी एक महिनाभित्रै पूरा गरेर सेवा सुरु गर्ने उहाँको भनाइ छ ।

हालसम्म रातो रगत (होलब्लड) को सेवामात्र दिदै आएको उपशाखाको आफ्‌नै अत्याधुनिक भवन र प्रयोगशाला छ । अब कम्पोनेन्ट मसिन जडानपछि उपशाखाको रक्तसञ्चार केन्द्रले जटिल प्रकृतिका बिरामीलाई आवश्यक पर्ने सेतो रगत, प्लाज्मा र प्लेटोनेट पनि यहींबाट सेवा दिन सकिने प्रयोगशाला इञ्चार्ज   सिर्जना देवकोटाले बताउनुभयो ।

यो मसिन खरिदमा ७० लाख करिब खर्च भएको यस कार्यका समन्वयकर्ता रोटरी क्लव अफ बर्दिबासका अध्यक्ष (चेयर पर्सन) विष्णुराज पुरीले जानकारी दिनुभयो । मसिन जडान गरेर सञ्चालन गर्नसम्म अब थप १० लाख खर्च हुने रेडक्रस उपशाखा बर्दिबासले जनाएको छ ।

मानवीय सेवाको क्षेत्रलाई फराकिलो बनाउन बर्दिबास उपशाखाले थालेको नयाँ कामले महोत्तरीमात्र नभएर आसपासका अन्य जिल्लालाई पनि सेतो रगतको आपूर्तिमा सहयोग पुग्ने रेडक्रस महोत्तरी जिल्ला शाखाका सभापति दीपक मिश्र बताउनुहुन्छ । “महोत्तरीमा त कम्पोनेन्ट जडान गर्ने बर्दिबास पहिलो नै हो” मिश्रले भन्नुभयो , “अब बर्दिबासबाट सेतो रगतको सेवा वाग्मती प्रदेशको सिन्धुली, कोशी प्रदेशको उदयपुर र मधेशका जिल्लाले पाउन सक्नेछन् ।”  मानवीय सेवाका क्षेत्रमा याे उत्कृष्ट कामकाे थालनी भएकाे उहाँले बताउनुभयाे ।

यहीं नै कम्पोनेन्ट मसिन जडान भएर सेतो रगत बन्न थालेपछि यस भेगका अस्पतालमा थप सेवा बढ्ने बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा. रितेश घिमिरे बताउनुहुन्छ । सेतो रगत बन्न थालेससँगै प्लाज्मा र प्लेटनेट यहीं पाइएपछि योसँगै जोडेर अस्पतालका सेवा विस्तार हुने उहाँको भनाइ छ ।

आफ्‌नो ठाउँमा सेतो रगत बनाइने कम्पोनेन्ट मसिन जडान थालिएपछि बर्दिबास क्षेत्रमा अब आफ्‌नै ठाउँमा जटिल प्रकृतिको उपचार पाइने सर्वसाधारणले आस सँगालेका छन् । यहीं नै सेतो रगतको सेवा र उपचार पाएपछि खर्च, समय र दौडधूपको हण्डर निकै कम हुने यस क्षेत्रका सर्वसाधारण बासिन्दाको विश्वास छ ।


२०८३ बैशाख २६, शनिबार १३:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय