महाेत्तरी । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेशमा कुपाेषणकाे समस्या मुख्यत बानीव्यवहारमा रहेकाे बताउनु भएकाे छ । मधेश प्रदेशकाे स्वास्थ्य सेवा निर्देशनालय सपही धनुषाले लालगढमा आज मङ्गलबार सुरु गरेकाे तीन दिने मधेश प्रदेश स्तरीय पाेषण नीति सम्वाद तथा शिखर सम्मेलन-२०८३ उद्घाटन गर्दै यादवले प्रत्येक घरकाे भान्साघर व्यवस्थित गर्नसके अवस्थामा सुधार आउने उल्लेख गर्नुभयाे ।
मधेश खाद्य सामग्री उत्पादनका दृष्टिले अन्य प्रदेशका तुलनामा राम्राे भएपनि उपयाेग ठिकसँग नहुँदा यहाँ कुपाेषण समस्या बनेकाे उहाँकाे भनाइ छ । शिखर सम्मेलनले घरघरकाे खाना परिकारलाई स्वस्थ्य र पाेषणयुक्त बनाउन व्यवहारिक रणनीति बन्न आवश्यक रहेको मुख्यमन्त्री यादवले औंल्याउनुभयो ।
तीन दिने शिखर सम्मेलनले मधेशमा कुपाेषणका कारण देखिने पुड्काेपन, ख्याउटेपन र रक्तअल्पताकाे समस्या निदानमा ठाेस निष्कर्ष दिने मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङ्गीलाल रायले बताउनुभयाे । सम्मेलनले अनुगमनकाे पाटाेलाई प्रभावकारी बनाउन ठाेस तालिका बनाउन रायले सुझाउनुभयाे ।
सम्मेलनमा पाेषण नीतिबारे विज्ञहरुबीच गहन सम्वाद गरिएर निष्कर्ष निकालिने मधेश प्रदेश सरकारकाे स्वास्थ सचिब डा. प्रमाेदकुमार यादवले स्पष्ट पार्नुभयाे ।
सम्मेलनमा प्रदेशका सबै पाेषणसम्बद्ध प्रदेश स्तरीय सरकारी कार्यालयका प्रमुख , प्रादेशिक अस्पतालका प्रमुख, पाेषणविद् र आठै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र पाेषण अधिकृतकाे सहभागिता रहेकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । पाेषण नीति सम्वाद तथा शिखर सम्मेलन प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सराेजचन्द्र न्याैपानेकाे अध्यक्षतामा आयोजित छ ।


