भूमिका उपाध्याय,
बर्दिबास । महोत्तरीको बर्दिबासमा जगन्नाथ रथयात्राको तयारी थालिएको छ । अन्तराष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) बर्दिबासले यही आउने आइतबार (जेठ १०) गते बर्दिबासमा जगन्नाथ रथयात्रा गरिने आज मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
इस्कोन गौडीय वैष्णव परम्पराको हिन्दू धार्मिक संस्था मानिन्छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्ण भक्ति परम्पराको यो संस्थालाई ‘हरे कृष्ण’ पनि भनिन्छ । संसारभरि भगवान जगन्नाथको कीर्ति र मानवकल्याणको मार्गबारे सचेतना बढाउँदै अध्यात्मतिर आम मानिसलाई अभिप्रेरित गराउन रथयात्रा परम्परा चलेको इस्कोन बर्दिबास शाखाका प्रमुख परमपुरुष गोपाल दासले बताउनुभयो ।

सन् १९६६ को जुलाई १३ का दिन ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादले अमेरिकाको न्युयोर्कमा स्थापना गर्नुभएको इस्कोन अभियान अब संसारभरिका सबै मुलुकमा छ । यसै मानवकल्याणको कामनासहित सनातन हिन्दू दर्शनबारे जागरणका लागि बर्दिबासमा जगन्नाथ रथयात्राको तयारी थालिएको इस्कोन बर्दिबासले जनाएको छ । आउने आइतबार बिहान आयोजना हुने जगन्नाथ रथयात्राको मार्ग पनि निर्धारण भएको गोपालदासले जानकारी दिनुभयो । जसअनुसार बर्दिबास–१४ स्थित गौतम होटल अगाडिबाट सुरु हुने रथयात्रा भोलावसन्तचोक, सिन्धुलीचोक, राष्ट्रिय वाणिज्य बैङ्क अगाडिबाट दक्षिणतर्फ मोडिदै जनता क्याम्पस सडकबाट क्याम्पसचोक, लचका, हटियास्थित कामेश्वरनाथ मन्दिरहुँदै पुनः भोलावसन्तचोकबाट नवक्षितिज क्याम्पस जाने बाटोबाट इस्कोन बर्दिबास प्राङ्गणमा पुगेर समापन हुने आयोजकले जनाएका छन् ।
जगन्नाथ रथयात्रामा देवेश्वर श्रीकृष्ण, बलदेव र सुभद्राका प्रतिमा रथारोहण गराइ भक्तहरुले तान्ने चलन छ । भारतको उडिसामा हुने जगन्नाथ रथयात्रालाई सबै ठाउँका भक्तले अनुभूति गर्नसकुन् भन्ने उद्देश्यसाथ यो यात्रा स्वामी प्रभुपादले सर्वप्रथम अमेरिकाको न्युयोर्कबाट सुरु गराउनु भएको हो । अब संसारभरि हुँदै आएको रथयात्रा बर्दिबासमा आयोजना हुन लागेको हुँदा यसमा सहभागी हुन इस्कोन बर्दिबासले सबैसँग अपिल गरेको छ । यो रथयात्रामा नेपाल, भारतसहित अन्य मुलुकका साधुसन्तको पनि सहभागिता रहने जनाइएको छ ।


