महोत्तरी, २० जेठ ।

महोत्तरीको मटिहानीमा महिलाको प्रजनन स्वास्थ्य प्रवद्र्धन तथा स्त्रीरोग सम्बन्धी समस्याको पहिचान र उपचार प्रबन्ध गरिन महिलाको प्रजनन स्वास्थ्य रुग्णताको निःशुल्क स्क्रिनिङ तथा व्यवस्थापन शिबिर बुधबार सुरु भएको छ । मटिहानी नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाले दुई दिने शिबिर बुधबार सुरु गरेको हो ।

मटिहानी–६ स्थित मटिहानी स्वास्थ्य चौकी परिसरमा सञ्चालित शिबिरको पहिलो दिन नै १६५ जना महिलाले जाँचका लागि नाम दर्ता गराएका छन् । पहिलो दिन बुधबार ११५ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँचका लागि स्वाव सङ्कलन गरिएको स्वास्थ्य शाखा प्रमुख पवनकुमार मण्डलले जानकारी दिनुभयो । सङ्कलित स्वाव प्रादेशिक अस्पतालमा परीक्षणपछि आवश्यक उपचार व्यवस्था गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

दुई दिने शिबिरमा बिहीबार नाम दर्ता हुने र पहिलो दिन हेर्न बाँकी रहेका सबैको स्वाव सङकलन गरिने जनाइएको छ । स्वावको परीक्षण नतिजाअनुसार शल्यकृयादेखि अन्य सबै आवश्यक उपचार निःशुल्क गरिने नगर स्वास्थ्य शाखाले स्पष्ट पारेको छ । जाँचका लागि सम्पर्क गरेका सङ्ख्याको आधार लिइँदा बिहीबार थप २०० महिला शिबिरमा आउने स्वास्थ्य शाखा पमुख मण्डलको भनाइ छ ।

पासवान, चमार, खत्बेलगायतका दलित , धानुक, केवट, मलाहसहितका जनजाति र मुस्लिम समुदायका गरिब वर्गको मटिहानी नगर क्षेत्रमा बसोबास बाहुल्यता छ । स्वास्थ्य सचेतनाको कमी र गरिबीका कारण जटिल पकृतिका प्रजनन स्वास्थ्य जाँच नगराएका महिलालाई लक्षित गरी शिबिर आयोजना गरिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।

“महिलाहरूको स्वास्थ्य नै परिवार र समाजको स्वास्थ्य हो, यो स्वास्थ्य सम्वेदनशीलतालाई बुझेर नै शिबिर आयोजना गरिएको हो” नगरप्रमुख मण्डलले भन्नुभयो, “महिलाको स्वास्थ्य जटिलता परीक्षणबाट देखिए तत्काल उपचार पबन्ध गर्न सकिने छ ।” यो अवसरबाट स्वास्थ्य जाँच गराउन उहाँले नगरबासी महिलासँग अपिल पनि गर्नु भएको छ ।

यस दुई दिने शिबिरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले महिलाको विभिन्न प्रजनन तथा स्त्रीरोगसम्बन्धी स्वास्थ्य समस्याको जाँच, आवश्यक स्वाव परीक्षण र उपचार एबं परामर्श सेवा दिइरहेका स्वास्थ्य शाखाले जनाएको छ । शिविरमा विशेष गरी पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) को पहिचान तथा उपचार, पाठेघर खस्ने (आङ खस्ने) समस्याको परीक्षण तथा उपचार, स्तन क्यान्सरको प्रारम्भिक पहिचान, बाँझोपनसम्बन्धी समस्या पहिचान तथा उपचार, अब्स्ट्रेटिक फिस्टुलासम्बन्धी समस्या पहिचान तथा उपचार तथा अन्य स्त्रीरोग सम्बन्धी समस्याको जाँच, परीक्षण, उपचार र परामर्श सेवा दिइने स्वास्थ्य शाखा पमुख मण्डलले बताउनुभयो ।

शिविर सञ्चालन भएपछि नगरका महिलामा उत्साह देखिएको छ । स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नभएका तथा आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका महिलाका लागि शिविर महत्वपूर्ण अवसर बनेको नगर उपप्रमुख मञ्जुदेवी साहको भनाइ छ ।

नगर कार्यपालिकाको कार्यालयले महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यले जनस्वास्थ्यमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

 

 


२०८३ जेष्ठ २०, बुधबार २२:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय