भूमिका उपाध्याय,
बर्दिबास, २३ असार ।
बर्दिबासस्थित एकीकृत साकोसले आज मङ्गलबार छैटौँ वार्षिकाेत्सव सम्पन्न गरेकाे छ । विभिन्न शैक्षिक तथा रचनात्मक कार्यक्रमबीच संस्थाले छैठाै वार्षिकाेत्सव सम्पन्न गरेकाे हाे ।
वार्षिकाेत्सवकाे अवसरमा ‘बर्दिबास नगरपालिकाको सामाजिक विकासमा सहकारीको भूमिका’ विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ । प्रतियोगितामा १० विद्यालयका विद्यार्थी सहभागी भएका आयोजकले जनाएका छन्। प्रतियोगितामा सन साइन बोर्डिङ स्कुलकी सुजाता भुजेल प्रथम, जनता नमुना माध्यमिक विद्यालयकी अनिमा सिंह र ग्लोबल एकेडेमीका कुशल कार्की संयुक्त द्वितीय तथा मोडर्न गुरुकुल बोर्डिङ स्कुलका सौगात सापकोटा तृतीय भएका छन् । उत्कृष्ट प्रतियाेगीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएकाे छ ।
यसैगरी संस्थाले शेयर सदस्यका १० जना जेहेन्दार बालसदस्यलाई स्टेशनरी सामग्री वितरण गर्नुका साथै सातदिने धूप तथा फूलबत्ती निर्माण तालिमका सहभागीलाई प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कारसमेत वितरण गरेको छ।
कार्यक्रममा बर्दिबास नगर कार्यपालिकाकाे कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले सहकारीका दुई प्रमुख आधारस्तम्भ समन्वयता र पारस्परिकता अवलम्बन गर्नसके सकारात्मक परिणाम प्राप्त हुने बताउनुभयाे ।
यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक तथा महिला केन्द्रीय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शारदा दाहाल, भूमि प्रशासन कार्यालय बर्दिबासका अधिकृत सुनिल पौडेल, इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख माधवराज न्यौपाने र बर्दिबास नगरपालिकाका सेवा निवृत्त अधिकृत गणेश दाहालसहितका वक्ताले शुभकामना व्यक्त गर्नुभयाे ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, शिक्षक, विद्यार्थी तथा शेयर सदस्यकाे सहभागिता रह्याे ।
कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत साकाेसका अध्यक्ष उत्तमकुमार श्रेष्ठले सहकारी बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई आत्मनिर्भरता, उद्यमशीलता, सामाजिक उत्तरदायित्व र सामूहिक समृद्धिको अभियान भएको बताउनुभयाे । शिक्षा, स्वास्थ्य, सीप विकास, वातावरण संरक्षण र युवा तथा महिला सशक्तीकरणलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइने श्रेष्ठले प्रतिबद्धता जनाउनुभयाे ।
संस्थाले सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै सहकार्य, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वमार्फत समृद्ध समाज निर्माणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।



