भूमिका उपाध्याय,
बर्दिबास, ४ साउन ।
पानीझरीकाे माैसममा पर्नसक्ने विपद आँकलन गर्दै लायन्स क्लव अफ बर्दिबास समाजले पूर्वसचेतता अप्नाउँदै रचनात्मक गतिविधि बढाएकाे छ । वर्षासँगै आउनसक्ने बाढी, पहिराेकाे जाेखिम र त्यससँगै जाेडिएर आउनसक्ने विभिन्न राेगव्याधकाे उपचारमा रगतकाे अभाव हुन नदिन लायन्स क्लव अफ बर्दिबास समाजले आइतबार नै एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । रेडक्रस बर्दिबास उपशाखाकाे प्राविधिक सहयाेगमा सञ्चालित यस कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन् ।
आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेकाे लायन्स बर्दिबासले साेमबार साउने बाेलबम मेलाकाे अवसरमा टुटेश्वरनाथमा स्वास्थ्य जाँच र श्रद्धालुलाई खानेपानी सेवा उपलब्ध गराएकाे छ । मेलामा भीडमा चेपिएर र गर्मीले निसास्सिएर बेहाेस भएका बिरामीकाे तत्काल उपचार सेवा दिइएकाे लायन्स बर्दिबासले जनाएकाे छ । स्वास्थ्य शिबिरमा ३०० बढी श्रद्धालुकाे स्वास्थ्य जाँच गरी उपचार सेवा दिइएकाे लायन्स बर्दिबास शाखाका अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयाे ।

यसैगरी मेलामा स्वच्छ खानेपानीकाे व्यवस्था गरेर लायन्सले चर्काे गर्मीमा श्रद्धालुलाई राहत दिएकाे मेलाका सहभागीले बताएका छन् ।
यसैबीच लायन्स बर्दिबासका अध्यक्ष बरालले साउने मेलाभरि दर्शनार्थीकाे स्वास्थ्य जाँच र उपचार एबं अन्य आवश्यक मानवीय सेवाका क्षेत्रमा हरदम तत्पर रहन आफ्ना सदस्यहरुलाई अपिल गरेकाे छ । यसैगरि वर्षासँगै जाेडिएर आउने विपद् प्रतिकार्यमा आआफ्ना क्षेत्रबाट सहयाेगमा जुट्न लायन्स बर्दिबासले सबै सामाजिक सङ्घसंस्थासँग अनुराेध गरेकाे छ ।



