नेपालवाणी डटकम
जनकपुरधाम, श्रावण ।
मधेशमा चर्किएको धार्मिक द्वन्द घटनाको समयको प्रादेशिक अस्पतालाई २४ औं घटना उपचारमा ‘स्ट्यान्डबाइ’ रहन स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले निर्देशन जारी गरेको छ । पछिल्लो समय देखिएको धार्मिक तनावले लिएको आन्दोलन स्वरुपमा हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले प्रदेशभरका सबै सरकारी तथा निजी स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाई ‘स्ट्यान्डबाइ’ अवस्थामा रहन निर्देशन दिएका हुन् ।
मन्त्री साहले आन्दोलन र जोखिमपूर्ण वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी प्रदेश अन्तर्गतका सबै सरकारी तथा निजी स्वास्थ्य संस्थालाई आवश्यक तयारी सहित उपचाररत अवस्थामा रहन आग्रह गरेका हुन् । उनले कुनै पनि सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई प्रभावकारी रुपमा सामना गर्न आकस्मिक सेवा, एम्बुलेन्स सेवा, विशेषज्ञ सहित आवश्यक स्वास्थ्य जनशक्ति, अत्यावश्यक औषधि, रगत, स्वास्थ्य उपकरण तथा अन्य स्वास्थ्य सामग्रीको पर्याप्त उपलब्धता सुनिश्चित गर्न निर्देशन दिएका छन् । साथै स्वास्थ्य सेवामा कुनै प्रकारको अवरोध आउन नदिन २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
नागरिकको जीवन र सुरक्षासँग स्वास्थ्य सेवा प्रत्यक्ष जोडिएको बताउँदै सबै स्वास्थ्य संस्थाबीच आवश्यक समन्वय, सहकार्य र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री साहको जोड छ । उनले प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षा, मानवीय संवेदना तथा गुणस्तरीय स्वास्थ्य सेवाको निरन्तरतालाई सर्वोच्च प्राथमिकताका साथ राख्न अपिल गरेको छ ।
मधेशमा बढ्दो आन्दोलनका बीच मन्त्री साहले मधेश प्रदेशमा शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, युवा तथा आमसर्वसाधारणलाई संयमता अपनाउन हार्दिक अपिल गरेका छन् । कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधि नगर्न तथा शान्ति कायम गर्न सबैसंग अपिल गरेको छ ।
प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाप्रति पूर्ण रूपमा संवेदनशील रहेको र आवश्यक परे जुनसुकै स्वास्थ्य आपत्कालीन अवस्थाको सामना गर्न सम्पूर्ण स्वास्थ्य संयन्त्र तयारी अवस्थामा राखिएको मन्त्री साहका प्रमुख स्वकीय सचिव सुमित सिंहले जानकारी दिए ।


