( महोत्तरी सदरमुकाम जलेश्वर स्थित निषेधाज्ञापछि सुनसान बजारक्षेत्र : गोबिन्द महतो )
  • गोबिन्द महतो, महोत्तरी

समुदाय स्तरमा कारोना भाइरसको संक्रमणपछि महोत्तरीमा बृहत्त पिसिआर परिक्षण गर्ने अभियान सुरु भएको छ । जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण भेटिएपछि निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

समुदाय स्तरमा संक्रमितको संख्या बढेपछि समुदायमा संक्रमणको आशंकापछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रवार राति ११ बजेदेखि पाँच दिने निषेधाज्ञा जारी गरेको छ । जिल्ला दैवी प्रकोप तथा राहत उद्धार समितिको निर्णयानुसार १६ गते राति ११ बजे देखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिन सम्मको लागि निषेधाज्ञा जारी गरिएको जनाए । त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले निषेधाज्ञा अवधिमा ‘मास टेस्टिङ्ग’ तिव्रता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कटवालले जानकारी दिए । कोरोना संकट व्यवस्थापन केन्द्रले महोत्तरीको १५ वटै स्थानीय तहमा पिसिआर परिक्षण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कट्वालले भने, ‘महोत्तरीको सबै पालिकामा नमूना मुलक पिसिआर परिक्षणको रिपोर्टपछि संक्रमण अवस्थाको मानचित्र अनुसार अगाडीको कदम चलाईनेछ ।’


‘ट्राभल हिस्ट्रि’ नभएका र संक्रमितको संम्पर्कमा नआएका केही व्यक्तिमा संक्रमित देखिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कटवालले भने, ‘अहिले देखिएका नयाँ संक्रमितहरुको ट्राभल हिस्ट्रि छैन, संक्रमितको सम्पर्कमा पनि आएको छैन, तर शंका लागेर चेक जाँच गर्दा कोरोना रिपोर्टमा पोजिटभ देखिएको हो ।’

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले समुदाय स्तरमा कोरोना फैलिएको जस्तो देखिएपनि यकिन हुन बाँकी रहेको बताए । उनले भने, ‘प्रदेशको बिभिन्न जिल्लामा समुदाय स्तरमा सामुहिक रुपमा पिसिआर परिक्षण थालिएपनि प्रदेशसंग श्रोत साधनको व्यापक अभाव छ ।’ उनले संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक श्रोत साधन उपलब्ध गराउन माग गरे ।

प्रदेश २ को राजधानी जनकपुरधाम सहित सप्तरी, बिरगञ्ज, महोत्तरीमा केही दिनयता ट्राभल हिस्ट्रि नै नभएकाहरुमा धमाधम कोरोना पुष्टि भईरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजय झाले बताए । उनले भने, ‘बीचमा केहीदिन मत्थर जस्तै थियो, तर अहिले कोरोनाको संक्रमण दर बढेको छ, त्यो भन्दा घातक अब समुदाय स्तरमा संक्रमण फैलिएको भेटिसकेको छ ।’

महोत्तरी गाउँपालिका ३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएपछि उनको शव तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

२०७७ श्रावण १९, सोमबार २१:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय