
बर्दिबास : कोभिड १९, कोरोना भाईरस संक्रमणको जोखिम न्युनिकरणका लागी महोत्तरीको बर्दिवासमा नेपालकै पहिलो मास्क बैंकको स्थापना गरिएको छ । शिक्षा, स्वास्थ्य तथा विपद व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको चौतारी नेपालले चौतारी जापान संगको समन्वयमा सो मास्क बैंकको स्थापना गरेको हो । उद्घाटनको अवसरमा संस्थाले २० जना स्वास्थ्यकर्मी तथा पत्रकारलाई सेनिटाईजर, ग्लब्स, एन ९५ मास्क, सर्जिकल मास्क, हेड कभर, फेस सिल्ड तथा शुज कभर लगाएत एक एक थान स्वाथ्य सामाग्री बितरण गरेको छ भने ५० जना सुरक्षाकर्मीलाई सर्जिकल मास्क समेत बितरण गरेको छ ।
मास्क बैंकको उद्घाटन समारोहमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले कोरोना भाईरसको माहामारीको अहिलेको अवस्थामा स्थापना गरिएको मास्क बैंकले कोभिड नियन्त्रणको क्षेत्रमा राम्रो कामको सुरुवात गरेको बताए । मन्त्री पोखरेलले पछिल्लो समय सामाजिक सञ्जाल तथा संचारमाध्यम मार्फत कोरोना भाईरसलाई लिएर यो केहि हैन भन्ने गलत सुचना तथा धारणा संप्रेषण गर्ने क्रम बढेको बताउँदै यस्ता हल्लाको पछाडी कोहि लाग्न नहुने बताए । हाल लकडाउन खुलेको भए पनि कोरोनाको जोखिम कायमै रहेको र संक्रमण झनै फैलन सक्ने भन्दै यस्तो अवस्थामा सबैजना थप सजग र सुरक्षित हुनु पर्नेमा मन्त्री पोखरेलले जोड दिए । मास्क बैंक स्थापना गरेको संस्था चौतारी नेपाललाई मास्क बनाउने ज्ञान र चेतनाको पनि विकाश गर्दै समुदायमा अघि बढ्न सुझाव दिए ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएत कोरोना भाईरस संक्रमणको जोखिम न्युनिकरणका लागी अग्रपंक्तीमा रहेर सेवा प्रदान गर्दै आएका व्यक्तीहरुलाई सुरक्षा सामाग्रीको अभाव हुन नदिने उद्देश्य सहित स्थापना गरिएको मास्क बैंकको उद्घाटनको अवसरमा विभिन्न व्यक्ति तथा संस्थाले मास्क लगाएतका स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संस्थाले कोरोना भाईरसको जोखिम न्युनिकरण गर्ने उद्देश्य सहित देशका विभिन्न स्थानहरुमा निशुल्क रुपमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ । मास्क बैंकलाई डोकानिया ब्रदर्शबाट १ हजार थान, शान्ता मेडिकलबाट १ हजार थान, रत्न गृहबाट ५ सय थान र अन्य संस्था र व्यक्तिबाट गरी ४ हजार थान सर्जिकल मास्क सहयोग प्राप्त भएको चौतारी नेपालका डाक्टर हुलास अग्रवालले जानकारी दिए । कोभिड १९ मात्रै नभएर अन्य आउने थुप्रै विपदमा पनि चौतारी नेपालले काम गरिरहेको उनले बताए । बर्दिवास तथा आसपासका क्षेत्रमा जोखिम मोलेर काम गर्ने व्यक्तिलाई सुरक्षा सामाग्री प्रदान गर्दै सुरक्षित रहेको महसुुस गराउन बर्दिवासमै मास्क बैंकको उद्घाटन गरेको पनि उनले बताए ।