• नेपालवाणी संवाददाता

जनकपुरधाम : भारी असिना पानीबाट घर छानाको टाली-खपरा फुटेर राहतमा आएको जस्तापाता वितरणमा अनियमितता भएको छ । धनुषाको मिथिला नगरपालिका ६ अन्तर्गत टाली-खपरा घर गरिब तथा विपन्न परिवार भएकाहरुलाई वितरण गर्नुपर्ने जस्तापाता पक्कि घर भई छत ढलान गरेकाहरुलाई वितरण गरेर अनियमितता गरेको पाईएको छ ।

मिथिला नगरपालिका २ साना किसान तथा सहकारी संस्थाका अध्यक्ष रामदेव महतो, उद्योगी व्यवसायी विष्णुदेव राय, नेकपाका नेता जिवछ महतो लगायत दजर्नौ व्यक्तिको घर पूणर् रुपेण पक्कि छ । घरपरिवार सुखी सम्पन्न तथा दिनुहँ लाखौंको कारोबार पनि गर्छन् । तर उनीहरु जस्ता दजर्नौ व्यक्तिलाई पावर पहुँचको आधारमा जस्तापाता वितरण गरेर अनियमितता गरेको स्थानीयबासी प्रमोद महतोले बताए । ‘असिना पानीले घरको छानो छत विछत भई पानी पर्दा त्रिपाल टाँगेर जीवन गुजारा गर्दै आएको गरिब विपन्नका लागि आएको जस्तापाता हुनेखानेलाई बाँडियो’ महतोले भने, ‘म जस्ता सयौं गरिब तथा दलित विपन्न वर्गको दुलैदुलो भएको छानो झुपडी प्राथमिकतामा परेनन ।’

भारी असिनापानीले घर बिहिन भएकी असिनापिडित उर्मिला महतोले छतको पक्की घर भएका धनीहरुलाई जस्तापाता वितरण गरेको तर गरिब दिन दुःखीलाई नदिएको आरोप लगाईन् । उनले भनिन, ‘मेरो घरको छानो असिनाले ध्वस्त भयो, म पाँच महिनादेखि पानी पर्‍यो की त्रिपालको ओडार बनाएर बस्नुपर्छ, तर जस्तापाता आएपछि अलिअलि आशा जागेको थियो, तर मलाई जस्तापाता नै दिएन, म गरिबलाई कस्ले हेरिदिने ?’ प्रश्न गरे ।

वास्तविक असिना पीडितलाई जस्तापाता नदिएको झोंकमा स्थानीयबासीहरु आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका छन् । मिथिला नगरपालिका ६ का असिना पीडितहरु जस्तापाता पाउनबाट वञ्चित भएपछि मंगलवार वडा कार्यालय घेराउ गर्दै कार्यालयमा तालाबन्दी समेत गरेको छ । गृहमन्त्रालयले जिल्ला विपद व्यवस्थापन समिति मार्फत असिना पीडितका लागि जस्तापाता उपलब्ध गराएको छ । गत बैशाख १२ गते आएल भारी असिनावर्षा आ हावाहुरीबाट प्रभावित घरपरिवारलाई प्रतिघर २ ब्यान्डल अर्थात २४ पिसको दरले जस्तापाता उपलब्ध गराउने कार्यविधि छ ।
नेपाल सरकार गृहमन्त्रालय मार्फत ४ करोडको लागतमा जिल्ला विपद व्यवस्थापन समिति धनुषाले स्थानीय तह मार्फत जस्ता उपलब्ध गराएको हो । जसमध्ये धनुषाको मिथिला नगरपालिका ६ मा २६५ घरपरिवारको तथ्याङक संकलन गरिएको थियो । यता मिथिला नगरपालिका ६ का वडाध्यक्ष भक्त बहादुर बलम्पाकीले वडा सदस्यहरुले संकलन गरेको नामावली अनुसार जस्तापाता वितरण गरिएको दाबी गरे । उनले जस्तापाता गरिव, विपन्नका लागि नभई असिना पीडितको लागी आएको दाबी गर्दै भने, ‘छुट भएकालाई अनुगमन पश्चात नगरपालिकाको समन्वयनमा वितरण गरिनेछ ।’

असिना पिडितको लागि आएको जस्ता पक्किघर भएका धनीमनी तथा एउटै परिवारको चार/चार सदस्यको नाममा प्रतिव्यक्ति २४ वटा गरी जस्तापाता लगेको स्थानीयहरुको आरोप छ । यता वास्तविक असिना पिडितले जस्ता नपाएपछि सोमदिन पुनः ३०० असिनापीडितहरुले निवेदन दर्ता गराएको हिमालय युवा क्लवका अध्यक्ष अरुण महतोले जानकारी दिए ।

२०७७ आश्विन ६, मंगलवार १०:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय