
वासिंटन : अमेरिकाले विदेशबाट आएका विद्यार्थीलाई दुई वर्षभन्दा लामो भिसा नदिने कानुन ल्याउने तयारी गरेको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले यससम्बन्धी प्रस्ताव तयार पारेको बुझिएको छ ।
यद्यपि आगामी नोभेम्बरपछि ट्रम्पको दोस्रो कार्यकाल नभएको खण्डमा यस्तो योजना तुहिनसक्ने बताइन्छ । ट्रम्प प्रशासनले नेपाल लगायत विभिन्न ५९ देशका विद्यार्थीका लागि यस्तो कानुन मार्फत कडाइ गर्न लागेको हो ।
अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको थियो । जहाँ एफ, जे र आई समूहको गैरआवसीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव ल्याएको हो।
ट्रम्पले यसअघि नै आप्रवासीका लागि विभिन्न कानुनको सहायताबाट कडाइ गर्ने नीति अवलम्बन गर्दैआएका छन् । सार्वजनिक सभामा समेत उनले खुलेरै आप्रवासी प्रति कडाइ गरिने अभिव्यक्ति दिएका थिए । आप्रवासीकै कारण देशमा असुरक्षा, ठगी र आपराधिक गतिविधि बढेको उनको विश्वास छ ।
विद्यार्थी भिसा सकिएपछि पनि विभिन्न वाहनामा अमेरिकामै बस्ने देशका नागरिकहरुको सूचीमा नेपालीलाई पनि राखिएको छ । सोही अनुरुप नेपालीका लागि पनि कडाइ गरिएको हो । नेपालसहित इरान, अफगानिस्तान, भियतनाम, फिलिपिन्स, उत्तर कोरिया लगायत देशलाई उक्त सूचीमा राखिएको छ । जुन देशका १० प्रतिशत विद्यार्थी भिसा सकिएपछि पनि अमेरिकामै बस्ने गरेको तथ्यांक ट्रम्प प्रशासनले पेश गरेको छ ।