गलकोट । बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षाले स्वास्थ्य चौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन समेत चर्किएको छ ।

दुई वर्षपहिला निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा रहेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवाका लागि समेत समस्या भएको छ । बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको शर्माको भनाइ छ ।

“स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की भासिएको छ, भवनको केही भाग चर्किएको छ”, शर्माले भने, “पहिरो निरन्तर गइरहेको र भिरालो जमिनमाथि स्वास्थ्य चौकी भवन भएका कारण ठूलो क्षति हुनसक्ने अनुमान छ ।” तत्कालै सम्बन्धित निकायको ध्यान नजाने हो भने स्वास्थ्य चौकीनै विस्थापिन हुने खतरा छ । स्वास्थ्य चौकीको अग्रभागमा रहेको ढलान छिया–छिया भएर चर्किएको छ । झण्डै एक करोड ८२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन वातावरणीय मूल्याङ्कनबिनै निर्माण गर्दा समस्या भएको वडाध्यक्ष राजन जिसीले जानकारी दिए ।

तत्कालै पहिरो रोकथामका लागि ठूलो बजेट विनियोजन गर्न आवश्यक रहेको भन्दै जिसीले आवश्यक समन्वय भइरहेको बताए। झण्डै २०० मिटर लामो पहिरोका कारण लामाचौर जाने सडकमा समेत असर पुर्याएको छ । पहिरोले स्वास्थ्य चौकीमुनिका तीन घरसमेत जोखिममा परेका छन् ।

२०७७ आश्विन ११, आईतवार ०७:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय