
निक्षेप पन्छाउँदै बैंक
वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि बैंक तथा वित्तीय संस्थाले निक्षेप अस्वीकार गर्ने रणनीति अघि सारेका छन् । सिधै निक्षेप लिँदैनौं नभने पनि बैंक तथा वित्तीय संस्थाले निकै कम ब्याजदर तोक्नेदेखि संस्थागत निक्षेपकर्तालाई औपचारिक रूपमै निक्षेप घटाइदिन आग्रह गर्न थालेका छन् ।
कोभिडका कारण नयाँ कर्जा माग नहुनुका साथै विगत लामो समयदेखि प्रणालीमा रहेको अधिक तरलता नघटेपछि निक्षेप घटाउनतिर बैंकहरू लागेको स्रोतले बताएको छ ।
‘निक्षेप नै लिँदैनौ भन्न त कहाँ पाइयो र ?,’ एक बैंकरले भने, ‘तर, योजनाबद्ध रूपमा बैंकहरूले ठूलो निक्षेप कम गर्न थालेका छन् ।’ कर्जा माग नभएको अवस्थामा पनि बैंकले निक्षेपमा ब्याज तिरिरहनुपर्छ । कमाइ नहुने तर खर्च भइरहने भएकाले बैंकहरूले सम्भव भएसम्म निक्षेपको लागत कम हुने रणनीति अपनाउनुपरेको ती अधिकारीको भनाइ छ ।