काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै हालतमा पनि आउँदो वैशाखमा चुनाव हुने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ओली समूहको नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक र कानुनी रूपमा प्रतिनिधि सभा पुनर्स्थापना सम्भव नरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले आउँदाे वैशाख १७ र २७ गते चुनाव हुने विश्वास दिलाउनुभएकाे हाे । चुनाव तोकिएकै मितिमा हुने भएकाले निर्वाचन अभियानमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

जनसभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव राम्रो मानिस जिताएर पठाउन आग्रह गर्दै देश विकास गर्ने जिम्मा आफूले लिने बताउनुभयाे । उहाँले भन्नुभयो, ‘यो सरकारले गरेको विकासको काम तपाईँहरूले देख्नुभएको छ, म थप विकासकाे काम लागिरहेकाे छु ।’

उहाँले तीन करोड नेपालीमा दुई सय ६५ जना अलग हुँदा आफूलाई कुनै फरक नपर्ने पनि बताउनुभयो । उहाँले सुदूरपश्चिमबाट प्रचण्ड–माधव समूहलाई अबको चुनावमा १० सिटमात्र जितेर देखाउन पनि चुनौती दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरूको आलोचना गर्दै उनीहरूले झुक्याएर राजनीति गरिरहेको पनि आरोप लगाउनुभयो । पार्टी छाडेर हिँडेका भगौडाको कुरा नसुन्न पनि उहाँको आग्रह छ । उहाँले भ्रमको खेती गरेर कोही अघि बढ्न नसक्ने भन्दै नागरिक सचेत भइसकेको बताउनुभयो ।

सम्बाेधनकै क्रममा प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूभाग भएकाले त्यसलाई फिर्ता लिने प्रतिबद्धता जनाउनुभयो । नयाँ नक्सा प्रकाशन भएपछि केहीलाई पिर परेकाे भन्दै उहाँले भन्नुभयाे, ‘नेपाली भूभाग समावेश गरेर नयाँ नक्सा प्रकाशन गरिएपछि देशभित्रकै नक्कली राष्ट्रवादीहरूलाई पिर परेको छ ।’

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम पछाडि परेकाे भन्दै प्रदेशकाे विकासका लागि लाग्ने पनि बताउनुभयाे । गेटा मेडिकल कलेज र विश्वविद्यालयका रूपमा विकास गर्दैछौँ, अत्तरिया–धनगढी बाटो चाँडै सम्पन्न हुँदैछ, विमानस्थलको क्षमता वृद्धि गर्ने काम अघि बढिरहेको छ, गौरीफन्टा नाका विस्तार गर्न भारतसँग कुरा भइरहेको छ ।’

२०७७ पुष २४, शुक्रबार १९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय