
जनकपुरधाम : मधेशमा अधिकार प्राप्ति आन्दोलनको सुत्रपात भएको मधेश आन्दोलनको १४ वर्ष पूरा भएको छ । ‘स्वायत्त मधेश एक प्रदेश’ का लागि भएको अधिकार प्राप्तिको आन्दोलनको १४ वर्ष अगाडी मधेशी जनताले सुरु गरेको आन्दोलनको १४ वर्ष पुरा भएको हो ।
लामो संघर्ष र बलिदानीबाट प्राप्त उत्कर्षम ाबनेको प्रदेश सरकार गठन पछि प्रत्येक वर्ष माघ ५ मा औपचारिक रुपमा बलिदानी दिवस मनाउन थालिएको हो । यसवर्ष पनि प्रदेश सरकारले बिभिन्न ठाउँमा कार्यक्रम आयोजना गरी बलिदानी दिवस मनाएको छ । प्रदेश सरकारले जनकपुरधामको एक कोठामा बलिदानी दिवस मनाएको समयमै आन्दोलनको अगुवाहरुले जनकपुर मुटु जनकचोकमा सडकमै बलिदानी दिवस मनाए ।
सरकारद्वारा आयोजित बलिदानी दिवसमा शहीद परिवारका सदस्यहरु, जसपाका बरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा, प्रदेश २ मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु जितेन्द्र सोनल, नवलकिशोर साह, रामनरेश राय लगायतको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता पहिलो मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको आमाले गरेकी ये पहिलो पटक थियो ।
जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले शहीदहरुकै बलमा जनताले संघियता तथा प्रदेश सरकार पाएकोले शहीद परिवारसंग गरिएको प्रतिबद्धता पूरा गर्न ढिलाई गर्न नहुने सरकरारलाई सुझाए । ‘आन्दोलन उत्कर्षको बेला हामीले शहीद परिवारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थियौँ, त्यो अहिले सम्म हुन सकेन, ५० लाख रुपैयाँ नभएपनि सो बराबरको सहयोग शहीद परिवारलाई प्रदेश सरकारले गर्नुपर्छ ।’ उनले भने ।
महतोले सरकारमा भएको भ्रष्टाचारको चर्चा खुबै चलेको तर्फ प्रश्न तेर्साउँदै प्रदेशमा सुशासन विधेयक आएकोले पनि भ्रष्टाचार न्युनीकरण लागि भएपनि विधेयक छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरे । ‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लागिरहेको हुन्छ यसलाई निर्मूल गर्नुपर्छ, हामीलाई प्रदेश सरकारलाई नमूना सरकारको रुपमा प्रस्तुत गर्नुुछ’ महतोले भने ।
सादा कागजमा सही गराईयो
सोमवार आयोजित बलिदानी दिवसमा प्रदेश सरकारले आठवटै जिल्लाका शहीद परिवारका सदस्यहरुलाई दोसल्ला सहित २५ हजार दिएर सम्मान गरेको छ । कार्यक्रममा सहभागी ६० शहीद परिवारका सदस्यहरुलाई राजेन्द्र महतोले दोसल्ला सहित २५ हजार हस्तान्तरण गरेका थिए ।
प्रदेश सरकारले ती शहीद परिवारका सदस्यहरुलाई आर्थिक सहयोग गरे वापत हस्ताक्षर समेत गराइएको छ । हस्ताक्षर गराइएको कागजमा रकम उल्लेख नरहेको पाइएको छ । प्रदेश सरकारको भ्रष्टाचारमा लिप्त रहेको आरोप खेपिरहेको समय शहिद परिवारको नामबाट सादा कागजमा हस्ताक्षर गराईएको प्रति आशंका उत्पन्न भएको छ ।