काठमाडौं : ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आज शुक्रवारबाट आइपीओ खुला गर्दैछ । शुरुमा फागुन २३ गते आइतवारबाट आईपीओ निष्कासको मिति तोकिए पनि आजबाटै निष्कासन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइतवारबाट निष्कासन गर्दा मेरो सेयरमा पर्ने चापले नियमित सेयर कारोबारको सेटलमेन्टमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै कम्पनीले मिति परिवर्तन गरेर आजबाट आईपीओ बिक्री खुला गर्न लागेको हो । यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

२०७७ फाल्गुन २१, शुक्रबार ०७:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय