
काठमाडौं : आज १११औँ अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाइँदै आएको छ ।
नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस्तै महिला अधिकार र महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले आज विभिन्न कार्यक्रम गर्दै दिवस मनाउँदैछन् ।
नारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी छन् ।
यस्तै, उपराष्ट्रपति पुनले सन्देश जारी गर्दै भनेका छन्, ‘जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्दछ । संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव छैन ।’
दिवसको प्रधानमन्त्री ओलीले सन्देशमार्फत राज्यले लिएको नीतिले महिला सहभागिता र लैङ्गिक समानतामा उल्लेख्य प्रगति भएको तथा राजनीति र प्रशासन क्षेत्रमा महिला सहभागितामा उल्लेख्य वृद्धि भएको बताएका छन् ।
ओलले भनेका छन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारीका सूचकहरुमा सकारात्मक सुधार भएको छ । लैंगिक विकास सूचकांकमा भएको सुधारबाट पनि सरकारको प्रयासले राम्रो प्रतिफल दिएको छ भनेर बुझ्न सकिन्छ । यद्यपि, समाजको न्यूज चेतनाका कारण महिला उत्पीडन, महिला हिंसा र दुर्व्यवहारका अवशेषहरू बाँकी छन् । यसलाई निरुत्साहित गर्न सबैको सहकार्यमा जनचेतनाको आवश्यकता रहन्छ ।’