
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार सन्तुलन गर्न उपभोग्य वस्तुमा आत्मनिर्भर हुन आवश्यक रहेको बताएका छन् । सोमबार मेक इन नेपाल स्वदेशी अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको व्यापार सन्तुलन गर्नका लागि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुनुपर्ने बताएका हुन् ।
कृषि प्रधान देशमा कृषि भए पनि कृषिमा आधारित उद्योग नभएको भन्दै उनले उद्योग स्थापना गरी आवश्यक सामग्रीहरु बनाई बाहिर बेच्नुपर्ने बताए । अन्यत्र मुलुकमा बनेका सामान खरिद गर्नुका भन्दा मुलुकमै उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको लागि गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने पनि बताए । प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले मेक इन नेपाल स्वदेशी अभियान स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सुरु गरेको बताए ।
मुलुकको औद्योगिक विस्तार, रोजगारीको सिर्जना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताए ।