
काठमाडौं : एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै प्रदेशहरूमा पनि नयाँखालको समीकरण देखिएको छ । प्रदेश १ र वाग्मतीमा एमाले एक्लैको बहुमत छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एमाले नै ठूलो दल छ । प्रदेश १ र वाग्मती प्रदेशसभामा यसअघि नै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस भइसकेको छ ।
त्यसको टुंगो कसरी लाग्छ, प्रस्ट छैन । एमाले र माओवादी केन्द्र मिलेका बेला भागबन्डामा प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीमा एमालेका तथा कर्णाली र सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएका थिए । अब यी ६ वटै प्रदेश सरकारको भविष्य के हुने अन्योल छ । एमाले र माओवादी ब्युँतिँदा पनि प्रदेश २ मा भने खासै प्रभाव पर्ने देखिँदैन । कान्तिपुर दैनिकले लेखेको छ।
प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार झन् मजबुत भएको छ । नेकपाको अन्तरद्वन्द्वले प्रतिनिधिसभा विघटन भएपछि साविक दाहाल–नेपाल पक्षका ३७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वास प्रस्तावले मुख्यमन्त्री राई अल्पमतमा परेपछि प्रदेशसभा छल्दै आएका थिए । अल्पमतमा परेकाले आफैंले प्रदेशसभा बैठक आह्वान गरेका उनी बैठक बहिष्कार गर्ने अवस्थासम्म पुगेका थिए । अविश्वास प्रस्तावमाथि छलफल सुरु हुने कार्यसूचीसहित फागुन २० गते बोलाइएको प्रदेशसभा बैठक सभामुख प्रदीपकुमार भण्डारीले चैत २ गतेका लागि सारेका छन् । तर, सर्वोच्चको आदेशले नेकपालाई पुरानै अवस्थामा फर्काएपछि एमालेबाट निर्वाचित राई पूर्ण बहुमतमा आएका छन् ।