काठमाडौं : जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधनलगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने सङ्केत गरेको छ ।

जनता समाजवादी पार्टीको मङ्गलवार बसेको संसदीय दलको बैठकले आफ्ना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो । सांसद रेशम चौधरीको रिहाइ, मधेश थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधनलगायतलाई केन्द्रमा राखेर छलफल गर्ने र माग सम्बोधन हुने विश्वसनीय आधार भएपछि मात्रै पार्टी सरकार गठनबारे निर्णयमा पुग्ने सांसद राजेन्द्र महतोले जानकारी दिनुभयो । उहाँले विगतमा आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिए पनि कांग्रेस र कम्युनिस्ट दुवैले छलछाम गर्ने गरेको उल्लेख गर्दै यसपटक भने ‘उधारो सहमति’ कसैसँग नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा मुद्दा केन्द्रित भएर सबै पक्षसँग कुरा गर्छौँ । हाम्रा सांसद रेशम चौधरीको रिहाइलगायत मधेश थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधनलगायत सबै सवाललाई केन्द्रमा राखेर आफ्ना कुरा राख्छौँ । जो पक्ष हामीसँग कुरा गर्न चाहन्छ, ऊसँग हामी कुरा गर्छौँ । सबै कुरा बुझिसकेपछि पार्टीले औपचारिक निर्णय गर्छ । विगतको सबै अनुभवबाट पाठ सिक्दै आउँदा दिनमा पार्टीले निर्णय गर्छ । सरकार वा सत्ताको कुरा त्यत्ति सहज छैन । मुद्दा बाँकी छन् । मुद्दा सम्बोधनको सवाल छन्, त्यो पनि विश्वसनीय हिसाब–किताबले । ठगठगौति होइन । उधारो त धेरै भयो । उधारो खेती त धेरै गरिहाल्यो कि कांग्रेस, कम्युनिस्ट भनाउँदा पार्टीहरूले । उधारो खेती त कहाँ हुन्छ ? त्यसैले हुँदैन । मुद्दालाई केन्द्रमा राखेर हामी काम गर्छौँ । सबैसँग कुरा गर्छौँ र सबैको समीक्षा गरेर पार्टीले निर्णय गर्छ । भ्रममा नभइ सवाल केन्द्रित भएर निर्णय गरिने उधारो होइन । नगदमा चाहिन्छ । धेरै झुक्याए हामीलाई । अब यो हुनेवाला छैन । सबैसँग वार्ता गर्ने र बैमानी सैतानि कसैको चल्नेवाला छैन यसपालि ।’

नेता महतोले सबै पक्षसँग वार्ता गरी अवस्था बुझेर मात्रै पार्टीले आवश्यक निर्णय लिने बताउनुभयो । तत्काल अपर्झट कुरा गर्नुपर्ने भएकाले दुई जना साथीलाई त्यसको नेतृत्व गर्न पठाएको र पछि पार्टीले वार्ता समितिलाई औपचारिक रूपले पूर्णता दिने पनि उहाँले जानकारी दिनुभयो । नेता महतोले (भोलि) बुधवारसम्म वार्ता समितिलाई पूर्णता दिइने बताउनुभयो ।

जनता समाजवादी पार्टी संसदीय दलको औपचारिक बैठक मङ्गलवार पहिलो पटक बसेको हो । संसदीय दलका वरिष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकसँगै राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीको संसदीय दल विघटन भएर जनता समाजवादी पार्टीमा औपचारिक रूपमा समायोजन भएको छ । बैठकमा दल सञ्चालनका लागि नेता चयन र संसदीय समिति गठनका लागि विधानको मस्यौदा बनाइ वितरण गरिएको र अर्को बैठकले विधान पारित गरेर संसदीय दलको नेता चयन गर्ने सांसद महतोले जानकारी दिनुभयो ।

२०७७ फाल्गुन २५, मंगलवार २०:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय