
काठमाडौं : रंगमञ्च (नाटक) लाई अभिनयको प्रारम्भिक पाठशाला भन्ने गरिन्छ । नेपाली फिल्ममा स्थापित प्रायः कलाकार रंगमञ्चबाटै उदाएका छन् । पछिल्लो समय त रंगमञ्चबाट फिल्ममा प्रवेश कलाकारकै वर्चस्व छ । सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, कर्मा शाक्य, प्रवीण खतिवडा, बुद्धि तामाङ, विजय बराललगायत कलाकार रंगमञ्चबाटै फिल्ममा प्रवेश गरेका हुन् ।
रंगमञ्चबाट नेपाली फिल्ममा प्रवेश गर्ने कलाकार दिन प्रतिदिन बढिरहेको अवस्थामा फिल्ममा स्थापित कलाकारहरुको भने रंगमञ्चतर्फ आकर्षण र सक्रियता बढेको पाइन्छ । नम्रता श्रेष्ठ, राजेश हमाललगायतका कलाकारहरुले फुर्सदको समयमा नाटकमा अभिनय गर्ने गरेका छन् । यसबीच, अहिलेकी हटकेक अभिनेत्री स्वस्तिमा खड्काले पनि नाटकमा अभिनय गर्ने भएकी छन् ।
नारायण वाग्लेद्वारा लिखित चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाले अभिनय गर्न लागेकी हुन् । थिएटर भिलेजका निर्देशक बिमल सुवेदीले निर्देशन गर्ने उपन्यासको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन् । अहिले यसको रिहर्सल चलिरहेको छ । चाँडै मञ्चन हुने तयारी गरिएको नाटकमा स्वस्तिमाले ‘पल्पसा’ पात्रको भूमिकामा अभिनय गर्नेछिन् ।
पहिलो पटक नाटकमा अभिनय गर्न लागेका कारण उनी निकै उत्साहित छिन् । आफ्नो मनपर्ने उपन्यासमाथि बन्न लागेको नाटकमा अभिनय गर्ने अवसर पाएकोमा उनले खुसी व्यक्त गरेकी छन् । नाटक सकिएपछि भने उनी दीपेन्द्र के. खनालको फिल्म ‘चिसो मान्छे’ को छायांकनमा व्यस्त हुनेछिन् । यसपछि श्रीमान निश्चल बस्नेतले निर्देशन गर्ने फिल्म ‘जिन्दाबाद’ मा काम गर्नेछिन् ।