
विराटनगर : मोरङको विराटनगर महानगरपालिकामा खोप अभाव हुँदा खोप कार्यक्रम स्थगित भएको छ । सरकारको मापदण्डअनुसारका नागरिकलाई चाहिने जति खोप उपलब्ध नगराएको भन्दै विराटनगर महानगरपालिकाको वडा नम्बर ९ ले खोप कार्यक्रम बहिष्कार गरेको छ ।
९ नम्बरमा बुधबार बिहानैबाट खोप लगाउन आउनेहरुको भिड थियो । तर ममहानगरले आज ९ नम्बरमा १७ डोज खोप मात्रै पठाइदिएपछि खोप कार्यक्रम नै स्थगित गरेको वडा अध्यक्ष विश्वनाथ भगतले जानकारी दिए ।
महानगरपालिकाले कुल जनसंख्याको १.७ प्रतिशतका दरले खोप लगाउने तयारी गरेपनि खोप अभाव भएको जनाएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतका अनुसार जिल्ला खोप समन्वय समितिले महानगरलाई ३ हजार ५४८ डोज खोप उपलब्ध गराएको थियो ।
मापदण्डअनुसारका नागरिकलाई मात्र नभइ अग्रपंक्तिमा खटिएकाहरुलाई समेत खोप लगाउदा अभाव भएको महानगरले जनाएको छ ।
खोप अभाव भएपछि महानगरले जिल्ला प्रशासन कार्यालय मोरङलाई थप ५० प्रतिशत खोप डोज उपलब्ध गराउन माग गरेको छ ।